हुम्ला । १० वर्षे जनयुद्ध सकिएको १४ वर्ष पूरा हुँदा पनि हुम्लाका सहिद परिवारले भने अहिलेसम्म पनि पूरा राहत पाएका छैनन् । हुम्लाको थाली गाउँका ५० जना माओवादीमा गएकामध्ये चार जना सहिद भएका थिए ।
हुम्लाको सदरमुकाम सिमकोटबाट करीब पाँच घण्टा टाढापर्ने साविकको टाढा राया गाविसको थाली गाउँमा माओवादी जनयुद्धमा प्रत्येक घरबाट अनिवार्य एक जना होल टाइमर जानुपर्ने बाध्यात्मक अवस्थाले गर्दा करीब नौ दर्जन युवायुवतीहरू माओवादी सेनामा संलग्न थिए । स्थानीय शंकर रावलले भने, ‘जनताका हकअधिकारका लागि बलिदानी दिएका युवाहरूले अहिलेसम्म पनि न्याय पाएका छैनन् । सिंगो गाउँ नै परिवर्तनका लागि हिडेको बेला शान्ति प्रक्रियामा आएपछि पनि राज्यले तोकेको पैसा अहिलेसम्म उपलब्ध गरिएको छैन ।’
सदरमूकाम सिमकोटदेखि १३ कोस टाढा रहेको राया गाविसको थाली गाउँमा १७० घरधूरी रहेको छ । यो सानो गाउँबाट मात्र तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सयौं जना युवायुवतीहरू जनमुक्ति सेनामा भर्ना भएका थिए । उनीहरू विभिन्न समयमा विभिन्न जिम्मेवारी र भूमिकामा रहे पनि जनयुद्ध सकिएपछि ५० भन्दा धेरै सेना समायोजनमा स्वेच्छिक अवकाश लिएका थिए ।
लोकराज रावल (नजिक) दैलेख, जय रावल (हरी) म्याग्दीको बेनीबजार, भरत रावल (भीषण) गोर्खाको मनकामना र मान्देवी परियार गरी चार जना सहिद भएका छन् । सहिदहरूले १० लाख राहत पाउने भनिए पनि अहिलेसम्म २ लाख मात्र राहत पाएका छन् । यसरी चार सहिद परिवारले ८ लाख रकम मात्रै पाए ।
यसरी जनसेना हुनेहरूमा धनबहादुर रावल, रामदत्त रावल (क्रन्ति), प्रेम रावल, तारा रावल (सुनिल), दल रावल (माइकल), बेल्की रावल, सन्जीव रावल, कल रावल, जनखे रावल, छैका रावल र केसरी रावल ११ जना शान्ति भएपछि अनमिनको प्रमाणिकरणपछि माओवादी सेना छाडेका छन् । अज रावल (गोपाल), परेकलाल रावल (किशोर) र लक्ष्मी रावल पनि प्रमाणिकरणपछि वाइसीएलमा लागेका छन् । यसरी प्रमाणिकरणपछि वाइसीएलमा लाग्नेहरुलाई नेकपा माओवादीहरुले जनही ७० हजार रूपैयाँका दरले राहत दिदा तीन जना वाइसीएलले २ लाख १० हजार पाएका थिए । त्यसपछि उनीहरूको योगदानको कुनै सुनुवाइ नै भएन ।
यसरी बिष्णु (योगी) रावल, विपना, तारा रावल (रिता) र पूल्तिसरा रावल (जैसी)लाई अमिनले अयोग्य ठह-याएपछि प्रति व्यक्ति १ लाख रकमका दरले ३ लाख पाएका थिए । त्यसै गरी कटक रावल (अटल), कल्से रावल (निरक), राजेन्द्र रावल (विद्रोही), सबिन्दा रावल, बिमल रावल, (सुरेस), प्रगति रावल, जीवन रावल (लालिकिरण), सुमित्रा शाही रावल, जनबीर रावल (जनक), पूने रावल (पस्कर), बाँचु जेठारा रावल, राजेश रावल (केशव), गणेश रावल (सजक), जसमति रोकाया रावल (करुण), काले रावल (विद्रोही), देबिसरा बुढाथोकी रावल (बन्दना), प्रेम रावल (कर्ण), चुनौती रावल, बुद्धि रावल (बिनोद), जीवन रावल (डिटोल), शान्ति रोकाया रावल, हाँस रावल (विज्ञान), अस्मिता रावल, धनबहादुर रावल (इतिहास), बिर्सिङ रावल (किशोर), हर्क रावल (शंकर), पेम्बा रावल, बिसे रावल, (अजय) चन्द्रबहादुर शाही (साहस)हरू २८ जनाले स्वेच्छिक अवकाश रोजेपछि प्रति व्यक्ति जनही ५ लाख पाएका थिए । यसरी २८ जनाले १ करोड ४० लाख रकम ल्याएर आफ्नो भविश्यको खोजीमा लागे ।
हुम्ला जिल्लाबाट जनयुद्ध कालमा करीब ४ हजार जना माओवादी जनसेनामा सहभागी भए पनि धेरै जसो वाइसीएलमा रुपान्तरण भएका थिए । हुम्ला जिल्लाबाट नै माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन हुँदा एक मात्र महिला थाली गाउँकी सरस्वती जेठारा (रमिता) नेपाली सेना भएकी थिइन् ।
यसरी हुम्लाको थाली गाउँको १७० घरधुरीहरूमध्ये ५० जना अर्थात् ३० प्रतिशत माओवादीमा सहभागी भएको देखिन्छ । यो गाउँमा शान्तिपछि सेना समायोन प्याकेजबाट १ करोड ५० लाख १० हजार रूपैयाँलेले थालीबासी आफ्नो भविश्यको खोजीमा लागेका छन् । कतिपय नेपालगञ्ज, राजापुर, टिकापुर, कैलाली, सुर्खेत, कोहलपुरलगायतका ठाउँहरूमा संघर्ष गरिरहेका छन् भने कतिपय युवाहरू गाउँघरमा पुख्यौली काम गरिरहेका छन् ।