दशगजामा गोली चल्दा एक नेपाली युवक घाइते

विराटनगर, २९ भदाै । भारत र नेपालको सीमा क्षेत्रस्थित दशगजामा गोली चल्दा एक युवक घाइते भएका छन्। विराटनगर र भारतको जोगबनीको दशगजामा विराटनगर १२ का दीपक मण्डल घाइते भएको प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।

मोरङ्गले प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घाइते मण्डल खुट्टाको औलामा चोट लागेको छ । २४ वर्षीय मण्डल लागु औषध दुर्व्यशनी भएको जनाउँदै भारततर्फबाट लागुपदार्थ सेवन गरेर फर्कने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा आइतबार अपरान्ह करिब ३ बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ । विराटनगर महानगरपालिका–१७ मटेरुवा नाका हुँदै उनी भातरतर्फ गएको केहीबेरमै गोली प्रहार भएको थियो।

मटेरुवा प्रहरसी चौकी नजिकै रहेको घटनास्थल भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्छ । घटनास्थल छेउमा नेपालतर्फ सीमा नाकामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीले मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाएको छ। तर नाकामा परिचालित प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि विवाद गर्दै भारतीय युवाले गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५/३० वर्षीय मुकेश यादवले पेस्तोलबाट गोली प्रहार गरेको खुलेको छ । प्रहरी प्रमुख खड्काले सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा मण्डल भारततर्फ गएको विषयमा अनुसधान्धान सुरु गरिएको बताए ।

त्यसैगरि, घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन भारतीय प्रहरीलाई समन्वयका लागि कुरा गरेको उनले जानकारी दिए। घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादवसँग विवाद भएको र भाग्ने क्रममा आफू घाइते भएको मण्डलले प्रहरीलाई बताएकाछन् । गोली चलेपछि भागाभाग हुदाँ आफू पनि सो समूहबाट फुत्किन सफल भएको उनले बताएका छन् । मण्डलका अनुसार घटना भएपछि साँझ करिब ७ बजेतिर विराटनगर प्रवेश गरेका हुन् ।

मण्डलले भने जोगवनीमा आफ्नो मावली रहेकाले त्यता जाने क्रममा घटना भएको बताएका छन् । यसविषयमा उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए । तर त्यहाँका सुरक्षाकर्मीले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

प्रहरीले मण्डललाई राति साढे ९ बजेतिर रोडशेष चोक नजिक फेला पारेर उपचारका लागि कोशी अस्पताल लगेको थियो। उपचारमा संलग्न चिकित्सकले गोली प्रहारबाटै चोट लागेको पुष्टि गरेका छन् ।

रोडषेश चौकमा प्रहरीले फेला पार्दा मण्डल लागुऔषधकै नशामा थिए । मण्डलले पनि आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका थिए । त्यसैगरि, गोली प्रहार गर्ने व्यक्ति पनि लागु औषध कारोबारी भएको खुलेको छ ।

Loading...