श्रीमानलाई हत्या गरी डोकोमा लगेर भिरबाट खसालेको अभियोगमा महिला पक्राउ

बुटवल । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ ।

रुकुमको बाफिँकोट गाउँपालिका वार्ड नं. १० की २२ वर्षीया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ वर्षीय श्रीमान भिमबहादुर बुढाको हत्या गरी भिरमा फालेको अभियोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक ठक बहादुर केसीले जानकारी दिए । भिम बहादुरको शव यही १५ गते सोही वडाको टुटुरे भन्ने ठाउँमा भिरमा अड्किएको अवस्थामा फेला परेको थियो ।

मदिरा सेवन गरी आफुसँग झगडा गर्ने क्रममा अन्जनाले दाउराले श्रीमानको टाउकोमा प्रहार गर्दा मृत्यु भएपछि डोकोमा हाली भिरमा खसालेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक केसीले बताए । भिमबहादुरका भतिजो नाता लाग्ने गजेन्द्र बुढाको जाहेरीको आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएकाे छ ।

उनी बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरी हिरासतमा राखि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Loading...