(पढाइमा निकै अल्छी गर्ने प्रतीक घरको समस्याले वैदेशिक यात्रामा निस्किएको छ। आफ्नै घर नजिकका राजन दाइसँग उ दुबईको एक सहरमा गयो। उसलाई कम्पनीमा एकजना नेपालीलाई जिम्मा लगाएर राजन त्यहाँबाट निस्किएकाे छ । राजनले भेटाएकाे नेपालीले प्रतीकलाइ बस्ने ठाउँ देखाएर फर्किन्छ । काममा गएका नेपाली दाजुभाइहरु फर्किएपछि राजन एक दलाल हुन र यहाँ नेपालीले के के दु:ख पाइरहेका छन भन्ने प्रतिकले थाहा पाउँछ। त्यसपछि के भयो होला? प्रस्तुत छ कथाको दोश्रो अंस…)
त्यो रात निद्राले छोप्नै सकेन। रातभर मनमा एक किसिमको डर थियो। घरबाट बाहिर कहिल्यै नहिँडेको मान्छे म विदेशी भूमीमा एक किसिमले अलपत्र परेको थिएँ।
बिहान उज्यालो भयो:। विकासले भन्दै थियो- “आज त तिमी पनि काममा जानुपर्ने होला । बुझेर आएको भए हुने नि। हामी त फस्यौँ तिमी पनि अब कसरी निस्किन्छौ होला र खै। पूर्वदेखि पश्चिमसम्मका धेरै साथीभाइहरु अलपत्र अवस्थामा छन।”
म मौन थिएँ । अर्को कोठामा एकजना माधव नामका दाइ रहेछन। घर पश्चिम दाङ । उनले सबै कुरा सुनेपछि भने, “भाइ आइहाल्यौ, छोरो मान्छे हिम्मत नहार जसोतसो केही खर्च जुटायौ भने यहाँबाट भाग्न सकिन्छ। गाह्रो त धेरै छ । हामीले पनि यहि सोंचेका थियौँ । तर, कम्पनीमा काम गर्यो गर्यो पैसा नै दिँदैन। खानाको लागि जसोतसो हुन्छ । त्यही पनि कहिले भोकै सुत्नुपर्छ।”
मैले त्यतिकैमा सोधेँ, “काम के गर्नुपर्छ नि दाइ ?”
उनले भने, “कामको त कुरै नगर भाइ । ४५-५० डिग्रीको घाममा कसैले ठूला ठूला महलको माथि बालुवा बोक्नुपर्छ । कसैले एउटा रसीमा झुन्डिएर त्यही भवन निर्माण गर्नुपर्छ । कसैले बाटो बनाउनुपर्छ, धेरै काम छन भाइ । कसैले भेडा चराउँछन। यहाँ यसरी अलपत्रमा ५-७ लाख नेपाली होलान भाइ।”
यस्तै दु:खद कुराहरु सुनाए । हामी छिट्टै नै काममा जानको लागि तयार भयौँ । त्यहाँबाट ननिस्किएर अलि पर पुगेपछि एउटा निकै सुन्दर ठाउँ देखियो । मैले माधव दाइलाई भनेँ, “ठाउँ त हाम्रो नेपाल भन्दा पनि सुन्दर रहेछ है दाइ?”
उनको जवाफ थियो, “किन नहोस त भाइ । कयौँ नेपाली दाजुभाइको रगत र पसिनाले बनेको ठाउँ हो। कति नेपालीको त यहीँ मृत्युसम्म भएको छ।”
यस्तै कुरा गर्दै हामी कम्पनीमा पुग्यौँ। त्यहाँ एकजना मान्छे आयो र काममा लग्यो । बालुवा बोक्ने काम रहेछ। एउटा ठूलो निर्माणाधीन भवनको टुप्पोमा बालुवा बोकेर पुर्याउनु पर्ने । निकै अफ्ट्यारो गरी बोक्नुपर्ने रहेछ। थोरै पनि हलचल भएमा त्यहिँबाट खसिन्थ्यो । १० जना नेपालीको त्यस्तैबाट खसेर मृत्युसम्म भएको थियो भन्ने सुनेँ। एकछिन पनि आराम नपाइने । यसरी त्यस्तो ठाउँमा काम गर्दा केही दिन त निकै गाह्रो भयो। तर, के गर्नु । भाग्यले ठगेपछि कसैको केही लाग्दो रहेनछ । दु:ख र संघर्षले मेरो जीवनमा राम्रै ठाउँ पायो। बिहानै काममा गयो राती फर्कियो खाना पनि धेरैजसो एक छाक खायो । यसरी नै जीवन अगाडि बढिरहेको थियो। घरमा चाहिँ दु:खको कुराहरु भनेको थिइन।
६ महिनापछिको कुरा हो । एकदिन काममा जाँदै थिएँ, बाटोमा अचानक एकजना मानिससँग ठोक्किन पुगेँ। मैले फर्किएर मलाई माफ गर्नुस ( I am Sorry) भनेँ। उक्त मानिसले: ‘तपाइँ नेपाली हो?’ भन्दै साेधे ।
“हजुर हो ।” मैले उत्तर दिएँ।
उनले आफ्नो परिचय दिँदै भने: “मेरो नाम विक्रम नेपाली हो भाइ । म केही दिन अघि नेपालबाट यहाँ घुम्न भनेर आएको थिएँ। मेरो साथीले यहाँको समस्याको बारेमा बतायो । यो क्षेत्रमा नेपालीहरुको गैरकानुनी बसोबास छ भन्ने थाहा पाएँ । त्यसैले केही बुझौँ, नेपालीहरुको दु:खलाई हेरौँ र भेटौँ भनेर यता आएको ।”
त्यसपछि मैले आफ्नो र मसँग रहेका सम्पूर्ण साथीहरुको दु:ख उहाँलाई सुनाएँ । साथै घरको समस्याहरु पनि भनेँ। उहाँले मलाई आफुसँग हिँड्न भन्नुभयो । तर, कामको कारण म हिँड्न नसक्ने बताएँ।
उहाँले फेरि थप्नुभयो, “त्यो काम आजदेखि छाडिदेउ । मसँग हिँड र अरु साथीहरूलाई भेट गराउ । तिमीलाई म काम दिलाइदिउँला। उहाँको त्यो कुरापछि एक मनले सोंच्यो कतै फेरि पनि फस्ने त होइन । फेरि सोचेँ यहाँ पो के राम्रो काम पाएको छु र । म जान सहमत भएँ। त्यसपछि हामी म बसिरहेको ठाउँमा गयौँ। कोही साथीहरु काममा गइसकेका रहेछन । कोही जान बाँकी थिए। विक्रम सरले सबैको स्थिति हेरेर सबैसँग कुराकानी गर्नुभयो । कोही साथीका हात काटिएका, कसैको खुट्टामा समस्या, कोही मानसिक तनाबमा, खानु लाउनु नै छैन । यो सबै दु:ख एकदमै गहिरिएर हेर्नुभयो र सबैलाई विश्वस्त पार्दै भन्नुभयो, “पिर नगर्नुहोस म आफुले सकेको प्रयास गर्नेछु।”
निस्कने बेलामा मलाई जाउँ भन्नुभयो। “कहाँ जाने सर?” मैले साेधेँ । तिमी अहिलेलाई मसँग हिँड भन्दै मलाई लिएर हिँड्नुभयो।
केहीबेरको यात्रापछि हामी उहाँ बसेको ठाउँमा पुग्यौँ । एउटा ठूलो भवनको आठौं तलाको निकै सुन्दर कोठाहरु थिए । उहाँको साथीसँग मेरो परिचय सहित मैले भोगेको दु:ख सबै सुनाउनु भयो। उहाँको नाम सागर पौडेल रहेछ । त्यहाँ सुपरभाइजरको रुपमा काम गर्नुहुँदो रहेछ। मेरो सबै कुराहरु सुन्दा उहाँका आँखा रसाएका थिए।
उहाँले भन्नुभयो, “यहाँ अधिकांश नेपालीको दु:ख यस्तै हो भाइ। यहाँका नागरिकमा त मानवता नै छैन । तर निकै दु:खको साथ भन्नुपर्छ आफ्नै नेपाली दाजुभाइ र चिनजानकै आफ्नो मान्छेले पैसाको लागी ठगिरहेको छ। म पनि त्यस्तै ठगिएरै यहाँ आएको हुँ भाइ। धेरै समय मैले पनि यता उता भौतारिदै त्यस्तै दु:ख भोगेर कर्म गरेको थिएँ। त्यहाँबाट भागेर कति दिनसम्म त भोकभोकै पनि बस्नुपर्यो। पछि एउटा ठाउँमा अलि राम्रो काम पाएँ र स्थितिमा थोरै सुधार आयो। लामो समयको संघर्षपछि सुपरभाइजर हुने अवसर मिल्यो। लाखौं नेपालीको यस्तो अवस्था देख्छु तर के गर्नु सबैलाई आफैले मात्र गर्न सकिँदैन। लाखौँ नेपालीको मिहिनेतले यो सहरलाई यति सुन्दर बनाएको छ । यही मिहिनेत देश र समाजमा हुने भने हाम्रो नेपाल कति सुन्दर हुन्थ्यो होला तर के गर्नु नेपाली समाज आफ्नैलाई ठग्न र अरुको आलोचना गर्नमै तल्लिन छ।”
मैले भनेँ, “निकै मार्मिक कुरा गर्नुभयो दाइ। पढेको भए आफ्नै देशमा केही गर्न सकिन्थ्यो होला । पढाइमा अल्छी गरेँ । पछि यस्तो भयो। मेरो कुरा सुनेर विक्रम सरले भन्नुभयो, “पढाइले मात्रै पनि केही हुने होइन भाइ । देशमा शिक्षित बेरोजगार धेरै छन । पढेकै ब्यक्तिहरु पनि बाहिर आउन विवश छन। शिक्षा प्रणाली नै गलत छ। यसलाई सुधार गर्न हाम्रो पहुँचले भेट्दैन, सरकारी तहबाटै केही हुनुपर्छ। म तिमीलाई दुईवटा पुस्तक दिन्छु अल्छी नगरी त्यो अध्ययन गर।” मैले हुन्छ भन्दै टाउको हल्लाएँ।
उहाँले एउटा प्रश्न गर्नुभयो, “तिमीले बच्चादेखि आजसम्म याद गर त । तिमीलाई सबैभन्दा रुची लाग्ने कार्य के थियो ?”
मैले एकछिन विचार गरेँ । अनि भनेँ, “मलाई गीत गाउनमा निकै रुची थियो। तर, मेरो स्वर त्यति मिठो नभएर साथीहरु गिज्याउँथे।”
त्यसपछि उहाँले मलाई एउटा गीत गाउन भन्नुभयो। मैले “देउरालीमा धजा, भन्न त भन्थ्यौ आमा घर छाडेर नजा” बोलको गीत गाएर सुनाएँ।
यस्तै गर्दै धेरै कुराकानीहरु भए । उहाँले साेध्नुहुन्थ्यो म जवाफ दिन्थेँ। त्यसपछि सागर सरले भन्नुभयो, “भाइ प्रतीक, उनी मेरो साथी बिक्रम अन्तरास्ट्रिय स्तरको प्रेरणा प्रदान गर्ने ब्यक्ति हुन। यहाँ नेपाली श्रमिकहरुलाई प्रेरणा दिनको लागि मैले विशेष निम्तो गरेको थिएँ। यहाँ आएपछि उनले सम्पूर्ण श्रमिकहरुको जीवनशैली र बसोबास स्थान हेरेर मात्रै कार्यक्रम गर्ने कुरा उल्लेख गरे अनि आफै यो घाममा हिँडेर बासस्थान हेर्न जाँदै थिए तिमीसँग भेट भएछ। सागर सरको यो कुराले मलाई निकै खुसी बनायो। त्यतिन्जेल बिक्रम सरले मलाई २ वटा पुस्तक हातमा राख्दिसक्नुभएको थियो । ती पुस्तकहरु उहाँ आफैले लेख्नु भएकाे रहेछ ।
पुस्तक दिएपछि भन्नुभयो, “मेरो ४ दिनको कार्यक्रम छ यहाँ त्यतिन्जेल तिमी यहीँ बस। म बाहिर जानु छ । अझै धेरै नेपालीहरुको जीवनकथा हेर्नू छ । सागर यहिँ छन तिमीसँग । त्यसपछि बिक्रम सर त्यहाँबाट बाहिर निस्कनु भयो। म र सागर सर अन्य धेरै कुराहरु गर्दै त्यहिँ बस्यौँ।”
सागर सरले सोध्नुभयो, “भाइ अब राम्रो जागीर पायौ भने के गर्छौ ? यहिँ बस्ने या खर्च जुटाएर नेपाल फर्किने ?” मेराे आँखामा एक किसिमको उज्यालो चमक आयाे । उहाँलाइ मैले भने, “……..।”
क्रमशः
के उत्तर दियो होला त प्रतिकले? नेपाल फर्किने योजना बनाउँला या अरु केही काम नै खोजी गर्ला त? यसको उत्तरकाे कल्पना गर्दै गर्नुहोला । आगामी तेस्रो तथा अन्तिम भाग आउँदो सोमबार साँझसम्म प्रकाशित गर्नेछु। कथा कल्पना गरिएको भए पनि यसभित्रको दु:ख र नेपालीले विदेशमा भोग्ने पीडा भने धेरै सत्यता नै छ ।)
भूमिकास्थान-९, ढिकुरा, अर्घाखाँची