वास्तविक समाजवादका लागि नयाँ अभियान सञ्चालन गरिदै

काठमाडाैं । नेपालमा वास्तविक समाजवादका लागि संघर्ष गर्ने भन्दै नयाँ अभियान सुरु हुन थालेकाे छ । विभिन्न राजनीतिक अान्दाेलनमा जाेडिएर हाल स्वतन्त्र रुपमा रहेकाे टिमले याे अभियान थालेकाे हाे ।

साेसलिस्ट एलाइन्स मुभमेन्ट नाम दिइएकाे उक्त अभियानका एक पहलकर्ता महादीप पाेखरेलले नेपालमा अधिकांश नेता तथा पार्टीहरु नक्कली समाजवादकाे अभ्यास र वकालतमा लागेकाले याे अभियान थाल्नुपरेकाे बताएका छन् । उनले कम्युनिस्ट सिद्धान्तकाे वास्तविक मर्म र भावना विपरित कम्युनिस्ट नामकाे धज्जी उडाइएकाे बताए । वास्तविक समाजवादका निमित्त अध्ययन, छलफल, बहस र समाजवादी सिद्धान्त र कार्यक्रमलाइ देशमा कार्यान्वयन गर्ने वातावरण बनाउनका लागि लाग्ने बताए । त्यसका लागि नेपालसहित संसारभर छरिएर रहेका नेपालीहरुलाइ यस अभियानमा अावद्ध गराउने याेजना रहेकाे पनि उनले बताए ।

पाेखरेलले पछिल्लाे समय नेपालकाे राजनीति सिद्धान्त, नीति तथा कार्यक्रमभन्दा पनि व्यक्तिगत स्वार्थ, नातावाद र सम्वन्धका अाधारमा चलेकाे बताए । नेपालमा कम्युनिस्ट र समाजवादकाे खाेल अाेढेका धेरै व्यक्तिहरु उक्त सिद्धान्तमा नभइ सामन्तवादी शैलीमा काम गरिरहेकाे बताए । कार्यकर्ताहरुलाइ अाफ्नाे दास, चाकडी र चाप्लुसीकर्ता बनाएर अघि पछि लगाउने र नेताहरुले जे मनमा लाग्छ त्यही गर्ने गरिरहेकाे पनि उनले बताए । यही संस्कार र शैलीले नै कम्युनिस्ट र समाजवादी सिद्धान्त त के अरुहरुले भन्ने लाेकतन्त्रकाे समेत हत्या गरेकाे पाेखरेल बताउँछन् । यस्ताे अवस्थामा वास्तविक सिद्धान्तनिस्ट राजनीतिक अभियान सुरु गर्नुपर्ने जाेड दिँदै उनले त्यसैका लागि अाफूहरुले याे प्रयास गरेकाे बताए । यसलाइ क्रमश: विस्तार गर्दै लैजाने पनि उनले बताए ।

अहिले पाेखरेल लगायतकाे टीमले अभियानकाे अवधारणा पत्र लेख्न लागेकाे बताइएकाे छ । यसैबीच अभियन्ता पाेखरेलले सबै समाजवादीहरुलाइ अाह्वान गर्दै आफ्नाे अवधारणाका केही मागहरु अगाडि सारेका छन् ।

सम्पुर्ण देशभक्त, समाजवादी मित्रहरु!!

हाम्रो अननरत प्रयासद्वारा Socialist Alliance Movement भन्ने संस्थाको जन्म हुदैछ। यसका सम्पूर्ण विषयहरु केही दिनपछि सार्वजनिक हुँदैछन । तपाईहरुको जानकारीको निम्ति हाम्रो अवधारणा भित्रको एक अंश प्रस्तुत गरेको छु।

“राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भइरहेका राज्य दमन र फासिवादी कदमको विरुद्ध “:

यस अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै राज्यको तर्फबाट भएका फासीवादी क्रियाकलापको बिरोध गर्दछ र न्यायको पृष्ठपोषण गर्दछ। अहिले हाम्रो अगाडि मुख्यत: यी परिवेशहरु रहेका छन।

राष्ट्रिय रूपमा :-

– नेपालमा बिप्लबले नेतृत्व गरेको नेकपा माथि प्रतिबन्ध छ।अहिलेको समयमा राजनैतिक पार्टी माथिको प्रतिबन्ध सोच्न पनि नसकिने कुरा हो । हामी उक्त पार्टी माथि लागेको प्रतिबन्ध तुरुन्त हटाई वार्ता र खुला रूपमा राजनैतिक गतिविधि संचालन गर्न पाउने वातावरण निर्माण होस् भन्ने चाहन्छौ। उक्त पार्टीका कतिपय कार्यकर्तालाई ‘फेक इनकाउन्टर’ गरेर मारिएको छ । सरकारले त्यस्तो कदम रोकोस र दोषीलाई दण्ड गरोस। राजनैतिक आस्थाका आधारमा बन्दी बनाइएका हेमन्त प्रकाश ओली, माइला लामा लगायत सम्पूर्ण बन्दीलाई रिहा गर्नुपर्छ।

– नेपालको रुकुम लगायत कतिपय जिल्लाहरु, तराई क्षेत्रमा कथित दलितको आरोपमा अन्याय गर्ने, बलात्कार ,हत्या गर्ने लहर नै चलेको छ। सरकारले जहाँ अपराध भएको छ, त्यसका दोषी उपर कडा कारवाही गर्नुपर्छ । यस्ता विषयमा उदासिन हुनु पनि फासिवाद नै हो।

अन्तर्राष्ट्रिय रूपमा :-

– हालै टर्कीमा ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालकै क्रममा मृत्यु भयो ! टर्किस फासिवादी सरकारले उहाँलाई सेप्टेम्बर २०१७ मा न्याय र समानता र मुक्तिका पक्षमा आवाज उठाउँदै आएकी उनलाई प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य आतंकवादीको आरोप लगाएर गिरफ्तार गरी अमानवीय व्यवहार गर्दै आएको थियो । त्यहाँ विगत केही वर्षदेखि कवि, कलाकार, कानुन ब्यवसायी जो जो जनताको पक्षमा छन, तिनको भोक हडताल र शहादतको लहर नै चलेको छ । हामी टर्की सरकारको फासिवादी कदमको घोर भत्सर्ना गर्छौ।

– हालै फ़िलिपिनो क्रान्तिकारी नेता जसले भूमीको न्यायोचित वितरण लगायतका जीविकाको लागि संघर्षको नेतृत्व गर्दै आएका थिए, प्रतिक्रियावादमा पतन भएको फ़िलिपीनो सरकारले कायरतापूर्ण हत्या गरेको छ । त्यसको हामी भर्त्सना गर्छौं।
– पेरुका क्रान्तिकारी नेता गोन्जालोको जीवन रक्षा र रिहाईको जोडदार माग गर्छौ।
– भारतको फासिवादी सरकारले पनि जिएन साईबाबा, बारबरा राओ लगायत धेरै बुद्धिजीवीहरुलाई अभिव्यक्ति स्वतन्त्रताबाट बन्चित गर्दै कारागारमा सढाएर राखेको छ । हामी तमाम ती बुद्धिजीवीहरुको जीवन रक्षा र रिहाइको पक्षमा जोडदार माग गर्छौ।

यसरी नै हामी अन्तर्राष्ट्रियवादी र विश्वको जुनसुकै भागमा हुने अन्यायका विरुद्धमा छौ भन्ने स्पष्ट पार्न चाहन्छौ।

Loading...