कालिकोटको नग्मा बजारमा पहिरो जाँदा एकै परिवारका ४ सहित १० को मृत्यु

काठमाडौं, १५ भदौ । कालिकोटमा पहिराे जाँदा १० जनाकाे मृत्यु भएकाे छ । कालिकाेटकाे तिलागुफा नगरपालिका वार्ड नं. १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हाे ।

आइतबार दिउँसो गएकाे उक्त पहिराेमा परी २ जना घाइते भएका छन् । घाइते दुबै जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ । पहिराेले नाग्म बजार पछाडि रहेका तीन घर पुरेकाे छ । पहिरोमा पुरिएर उक्त घरमा पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको छ ।

त्यसैगरी सोही पहिरोमा परेर तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको पनि मृत्यु भएको छ । त्यस्तै तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । साेही पहिराेमा परेर सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका ४८ वर्षकी आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको मृत्यु भएकाे छ ।

मृतकको पोष्टमार्टम घटनास्थलमा नै गरिने प्रहरीले जनाएकाे छ । शवहरु सदरमुकाम ल्याउन सम्भव नभएकाेले घटनास्थलमा नै पोष्टमार्टम गर्न डाक्टरहरुकाे टाेली गएकाे कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिएका छन् ।

घटनास्थल कालिकाेट र जुम्ला जिल्लाकाे सीमा क्षेत्रमा पर्दछ ।

Loading...