आज एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, कूल मृत्यु हुने दुई सय नाघे

काठमाडौं, १३ भदौ । कोरोना संक्रमणबाट शनिवार एकैदिन १२ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएकाे हाे । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । प्रवक्ता गाैतमले मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेकाे पनि जानकारी दिए । गौतमका अनुसार पाल्पाकी ३०, काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

त्यस्तै पर्साका ४८, ३९, सिरहा ८४, गोरखामा ३८, काठमाडौँमा ८३, ललितपुरमा ७२ र ६१, भक्तपुरमा ८२ र कास्कीका ५८ वर्षीय पुरुषको पनि संक्रमणबाट निधन भएको हो। कोरोनाबाट मृत्यु हुनेको प्रतिशत संक्रमितमध्ये ०.५५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

Loading...