जापानी प्रधानमन्त्री शिन्जो आवेले दिए पदबाट राजीनामा

टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् । 

जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।
आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको आबेले पत्रकार सम्मेलनमा बताए । ८ वर्षसम्म आफूलाई यो रोगले नसताए पनि यस वर्ष जुनमा गरिएको परीक्षणपछि भने आफूलाई समस्या देखिएको उनले बताए । आफूले अहिले औषधि लिइरहेको पनि बताए ।

आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । अब आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै राजीनामा दिनुपरेको पनि उनले बताए । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाई थियो । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफी मागेका छन् ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

आबेको राजीनामासँगै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) मा नेतृत्वका लागि खिचातानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको थियो । साथै पार्टीका सदस्यहरु विभिन्न काण्डमा मुछिएपछि पनि उनी समस्यामा परेका थिए ।
कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको छ । केही दिनअघि प्रधानमन्त्री आबेले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जापानमा अहिलेसम्म करिब ६६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जापनमा कोरोनाबाट अहिलेसम्म एक हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

Loading...