भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा राती करिब १० बजे उनले ज्यान गुमाएकी हुन् । अस्पताल श्रोतले भने अस्पताल आइपुग्नु अघि नै उनले ज्यान गुमाएकी जिकिर गरेको छ ।

महिलाको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ पाइएको भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले पुष्टि गरेका छन् । मृत्यु पछि स्वाब संकलन गरी फास्ट ट्रयाकमा परीक्षण गर्दा राती नै उनमा कोरोना संक्रमण पुष्टि भएको मिजारले जानकारी गराए ।

मृतक महिलाको शव व्यवस्थापनको कार्य भइरहेको छ । नेपाली सेनाको टोली उक्त कार्यमा खटाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएकी छन् । प्रजिअ पाण्डेले अस्पताल सिल गरिएको र त्यहाँ सेनिटाइज गर्नुका साथै संलग्न चिकित्सक र स्टाफलाई क्वारेन्टाइनमा राखिएको बताइन् ।

Loading...