रुसका विपक्षी नेता नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

एजेन्सी । विष खुवाइएको आशंका गरिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ। गम्भीर अवस्थामा रहेका नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको बीबीसीले जनाएको छ।

नभाल्नी गत बिहीबार नै अचेत अवस्था पुगेका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गरेका नभाल्नी अचेत बनेको बताएका छन्। जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छिन्।

मस्को जाँदै गर्दा बिहीबार नभाल्नी विमानमै बिरामी परेका थिए। लगत्तै उनी सवार विमानले आपत्‌कालीन अवतरण गरेको थियो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए। ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल पनि परिसकेका छन्।

कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ। चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ‘मेटाबोलिक डिसअर्डरले’ निम्ताएको हुन सक्ने सङ्केत गरेका छन्।

उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूले सङ्केत गरेका छन्।

Loading...