महेन्द्रसिंह धोनी र सुरेश रैनाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।

भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्। उनले लेखेका छन्, `धन्यवाद, माया र समर्थनका लागि सबैलाई धन्यवाद । मैले १९:२४ बजेदेखि सन्यासको लिएको छु।´

पछिल्लोपटक उनले इङ्ग्ल्यान्डमा भएको आईसीसी विश्वकप खेलेका थिए। सन् २०१९ पछि उनी टोलीमा परेका छैनन् । कुनै समय टोलीलाई विश्वकप उपाधि दिलाएका पूर्वकप्तानको प्रदर्शनलाई लिएर विवाद हुँदै आएको थियो । ३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । भारतका लेजेण्ड क्रिकेटर धोनीले सबै फर्म्याटमा भारतका लागि ३३२ खेल खेलेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् ।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको केहीबेरमै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू पनि धोनीकै बाटो पछ्याउने बताएका छन्।

रैनाले भारतका लागि १८ टेस्ट, २ सय २६ एक दिवसीय र ७८ टी–२० खेलेका छन्। उनले टेस्टमा ७ सय ६८, एक दिवसीयमा ५ हजार ६ सय १५ र टी–२० मा १६ सय ५ रन बनाएका छन्। एक दिवसीयमा पाँच शतक बनाएका रैनाले टी–२० मा एक शतक बनाएका छन्। उनी पछिल्लो समय भारतीय टोलीमा परेका छैनन्।

Loading...