दुई वर्षमा एयरलिफ्टबाट २९ जना सुत्केरीको उद्धार

हुम्ला । एयरलिफ्टबाट दुई वर्षमा हुम्लाका २९ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । उनीहरूलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न अस्पतालमा पु–्याएर यो सेवा उपलब्ध गराइएको हो ।

यो वर्षमात्र १८ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो भने पोहोर ११ जना गर्भवती महिलाले यो सेवा पाएका छन् ।

हुम्लाका गाउँ गाउँमा सुत्केरी बेथाले दुःख पाएका महिलाहरूलाई तीनदेखि एघारदेखिसम्म बेथा लागेको अवस्थामा एयरलिफ्टबाट उद्धार गरिएको स्वास्थ्य स्रोत हुम्लाले जानकारी दिएको छ ।

स्थानीय, प्रादेशिक तथा संघीय सरकारको खर्च र स्थानीय प्रशासनका कार्यालय र सम्बन्धित गाउँपालिकाको समन्वयमा हाल यो सेवा उपलब्ध हुँदै आएको छ भने आवश्कयक प्राविधिक सेवा जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय हुम्लाले गरिरहेको उक्त कार्यालयका प्रमुख प्रेमबहादुर सिंहको भनाई रहेको छ ।

दुई वर्षको अवधिमा सुत्केरी बेथा लागेका महिलाहरूलाई हुम्ला, जुम्ला, सुर्खेत र नेपालगंजमा समेत प्रसुति सेवा उपलब्ध गराई आमा र बच्चाको जीवन सुरक्षित बनाइएको स्रोतको दावी रहेको छ ।

Loading...