नाकामा कडाई गराउन सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव

काठमाडौँ । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिमको क्रम बढेपछि नाकामा कडाई गराउन सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव दिएको छ। उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गर्नुभएको हो । संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

 

मेयर शाक्यले भन्नुभयो, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।’ छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टायन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टायन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिनुभयो । त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्युनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिएको जानकारी दिनुभयो । ‘सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएका छौँ,’ श्रेष्ठले भन्नुभयो। फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ । फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको  फोरमको बैठक सोमबार बस्ने तय भएको छ । 

Loading...