मेसीको नेतृत्वमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा मेस्सी, लुइस स्वारेज तथा क्लेमेन्ट लेङ्गलेटले गोल गरे । नोपोलीका लागि लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए ।

१० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । २३ औँ मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर पारे । मेस्सीको गोल ह्याण्डलब भएको हुन सक्ने आशंकामा भिएआरबाट रिभ्यू गरिएको थियो ।

लुइस स्वारेजले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा गोल गरी टिमको अग्रता ३–० बनाएका हुन् । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा नापोलीले पेनाल्टी पायो । त्यसमा इन्सिग्नेले गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना समग्रमा ४–२ को जितसहित अन्तिम ८ मा पुग्न सफल भयो । अब बार्सिलोनाले लिस्बोनमा सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्ने छ ।

Loading...