काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए, राजधानीमा कोरोनाबाट फेरि एक जनाको मृत्यु

काठमाडौं । राजधानी काठमाडौंमा अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन । राजधानीमा भाइरसको संक्रमण क्रमशः बढदै गएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए। यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, ललितपुरका १० जना र भक्तपुरका एकजना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।बिहीबार देशभर भने ३ सय ६० संक्रमित थपिएका छन्। हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्। अहिलेसम्म कोरोनाका कारण ६५ जनाको मृत्यु भएको छ।

कोरोनाबाट फेरि एकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जना व्यक्तिको मृत्यु भएको छ। चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको हो ।

पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब परीक्षणको लागि पठाइएको थियो। दम, रक्तचापको समेत समस्या रहेकी उनलाई सुरूमै आइसियूमा राखेर उपचार गरिएको बताइएको छ ।

ओम अस्पतालले मृतक महिलाको शव सेनाको टोलीले व्यवस्थापन गर्न लगिसकेको जनाएको छ।

यसअघि बुधबार काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् एक जना वृद्धाको कोरोनाकै कारण मृत्यु भएको थियो। सर्लाही निवासी ६५ वर्षीया ती वृद्धाको बुधबार मध्यान्ह १२ बजे मृत्यु भएको थियो।

Loading...