कोरोनाले एक मन्त्रीको मृत्यु, भारतमा गृहमन्त्रीसहित थुप्रै मन्त्रीमा देखियो कोराना

काठमाडाैं । भारतमा काेराेना संक्रमित एक मन्त्रीकाे मृत्यु भएकाे छ । नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको काेराेनाले मृत्यु भएकाे हाे ।

कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख एसजीपीजीआईमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन। उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे हाे ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरे ।

उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री कमलालाइृ सन् २०१७ मा भारतीय जनता पार्टीले कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो।

यसैगरी भारतका गृहमन्त्री अमित शाहमा पनि काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । गृहमन्त्री शाहले ट्विट गर्दै अाफूलाइ काेराेना पाेजिटिभ भएकाे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो रिपोर्ट पोजिटिभ आयो। मेरो स्वास्थ्य ठीक छ तर डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको छु। जो व्यक्ति पछिल्लो केही दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, उहाँहरूले कृपया कोरोना परीक्षण गराउनुहोस्।’

त्यसैगरी उत्तर प्रदेशका जल शक्तिमन्त्री महेन्द्र सिंह, कर्नाटकमा भाजपा सरकारका मुख्यमन्त्री बीएस येदियुरप्पा, बीजेपीका उत्तर प्रदेश प्रमुख स्वतन्त्रदेव सिंह, तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहितलाइ पनि कोरोना संक्रमित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंहसहित योगी आदित्यनाथ मन्त्रिमण्डलका मन्त्री चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सैनीलाई पनि कोरोना संक्रमण पुष्टि भइससकेको छ।

Loading...