नेपालका पुराना कम्युनिस्ट नेता थवाङका बरमन बुढाको निधन

काठमाडौं, ७ साउन । नेपालका पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका नेता बुढाकाे राजधानीकाे एक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

९० वर्षका नेता बुढालाइ उपचारका लागि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे बुधबार बिहान निधन भएको हो । आन्द्रामा क्यान्सर भएका उनको एक वर्षदेखि उपचार हुँदै आएको थियो ।

बरमन बुढा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट २०४८ सालमा सांसद बनेका थिए । त्यतिबेला जनमोर्चाले संसदमा ९ सिट ल्याएकाे थियाे । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व राेल्पाकै नेता कृष्णबहादुर महराले गरेका थिए । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धमा समेत बरमन बुढा सहभागी भएका थिए ।

गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।

Loading...