ठोरीको सीमा स्तम्भ उखेलेर फालियो

वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा स्तम्भको एउटा पिल्लर शनिबार उखेलेर फालिएको अवस्थामा भेटिएको छ।

ठोरी गाउँपालिका वडा नम्बर २ सितागुफास्थित एउटा पिल्लर भत्काएको अवस्थामा फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले बताए।

उनले मध्यान्हसम्म ठिकठाक अवस्थामा रहेको पिल्लर अचानक त्यसपछि भत्किएर ५/६ फिट तलसम्म पुगेको बताए। ‘मध्याह्न १२ बजेसम्म पिल्लर ठिकै थियो’, लामाले भने, ‘तर त्यसपछि पिल्लर भत्किएर ५/६ फिट तल पुर्‍याइएको छ।’

ठोरीको सितागुफास्थित नेपाल–भारत सिमा स्तम्भको ४३६ नम्बरको पिल्लर भत्किएको छ। लामाले उक्त पिल्लर सिमेन्टले बनेको बलियो भएको तथा माटोमा नभई २ फिटसम्म गहिरो चटटानमा गाडिएकोले आफै भत्किन नसक्ने बताए।

उनले माटोमा पिल्लर गाडिएको भए चट्याङ, पहिरो जस्ता कारणले पिल्लर भत्किन सक्ने तर चट्टानमै गाडिएको पिल्लर केही पनि नभई भत्किएको बताए।

स्थानीय माधव तिमिल्सिनाका अनुसार पनि उक्त पिल्लर दिउँसोसम्म रामै अवस्थामा रहेको थियो। ‘दिउँसो दुई बजेसम्म त त्यो पिल्लर ठिकै थियो तर अहिले भत्किएको छ’, तिम्लिसिनाले भने।

भत्किएको पिल्लर सिता गुफाको ठिकमाथि रहेको छ। प्रधानमन्त्री केपी ओलीले राम जन्मभुमि ठोरीमा भएको भनेपछि खुशी भएका स्थानीयबासीहरुले शनिबार नै सितागुफामा धुमधामका साथ पुजा अर्चना पनि गरेका छन्।

Loading...