जबर्जस्ती करणीको झुटो आरोप लगाएर मुद्दा हाल्ने युवतीलाइ उल्टै कैद र ६३ हजार जरिवाना

चितवन । फिल्मी शैलीमा एक युवकमाथि गलत अाराेप लगाएर २१० दिन कारागारमा थुनाउने एक युवतीलाइ उल्टै जेल सजाय ताेकिएकाे छ । चितवनकी एक युवतीले पाेखराका एक युवकलाइ जवरजस्ती करणी गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन । साेही अाधारमा ती युवकलाइ प्रहरीले पक्राउ गरेकाे थियाे । अदालतमा मुद्दा चलिरहेकाले उनलाइ जेल चलान गरिएकाे थियाे । उक्त जवरजस्ती करणीकाे मुद्दामा होस्टाइल भएपछि ती युवतीलाई चितवन जिल्ला अदालतले सजाय सुनाएको हाे।

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले युवतीलाई एक महिना कैद र ६३ हजार रुपैयाँ क्षतिपूर्ति प्रतिवादी विवेक पंगेनीलाई भराइ दिन आदेश दिएको छ। जाहेरवाली युवती भरतपुर महानगरपालिका वार्ड नम्बर ३३ की १९ वर्षीय युवती हुन् । उनी कक्षा १२ पढ्ने गरेकाे बताइएकाे छ । युवतीले पाेखराका विवेक पंगेनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन । तर, अन्तिममा अदालतमा उनले आफूमाथि आफूमाथि कुनै अपराधजन्य कार्य नभएको भन्दै बकपत्र गरेकी थिइन । उनले अदालतमा त्यस्ताे बकपत्र गरेसँगै अदालतले प्रतिवादीलाई सफाइ दियाे भने जाहेरवाली युवतीलाई सजाय तोकेको हो।

चितवन जिल्ला अदालतकाे फैसलामा निर्दोष व्यक्तिलाई अनाहकमा अभियोग लगाई शारिरीक, मानासिक कष्ट दिइ सामाजिक प्रतिष्ठामा समेत आँच आउने कार्य गरेकोले युवतीलाइ उक्त सजाय दिइएकाे उल्लेख गरेकाे छ ।

युवतीको गतल कार्यका कारण सरकारी स्रोत साधनको अपव्यय भएको र फौजदारी न्याय प्रणालीप्रति नै आम नागरिकको विश्वास घट्ने कार्य गरेकाले युवतीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) (क) र (ख) बमोजिम एक महिना कैद र क्षतिपूर्ति तिराउनु परेको ठहर गरेको छ।

अदालतको फैसलामा उल्लेख गरिएको छ, ‘अतः प्रभाव र परिणामको विचारै नगरी जबर जस्ती करणीको उद्योग जस्तो व्यक्तिको चरित्र र व्यक्तित्वमाथि गम्भीर असर पर्ने प्रकृतिको झुठो आरोप लगाई झुठो जाहेरी दिने र अदालतमा आइ त्यस प्रतिकुलको बकपत्र गर्ने जाहेरवालाको झुठो जाहेरीले फौजदारी न्याय प्रणालीको दुरुपयोग भएको अवस्था र यसले न्याय व्यवस्थामा पारेको प्रतिकुल प्रभावले निर्दोष व्यक्तिले अनाहकमा दुख पाएको अवस्था र झुठो जाहेरीका कारण अनुसन्धान र अभियोजनका क्रममा सरकारी स्रोत, साधन, समयको अपव्यय हुनुका साथै न्याय प्रणालीप्रति नागरिकको भरोसा र विश्वासमा समेत प्रतिकूल असर पुगेको देखिने अवस्था हुँदा।’

अदालतले युवतीको जाहेरीका कारण युवक २०७६ मंसिर २ गतेदेखि २१० दिन नगरेको नबिराएको कसुरमा थुनामा बस्नु परेकाले प्रति दिन ३०० सयका दरले हुन आउने ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

‘निजले दिएको सोही जाहेरीको आधारमा पक्राउ परेका प्रतिवादी विवेक पंगेनी हालसम्म जाहेरवालाकै भनाइ बमोजिम नगरेको नबिराएको भनिएको कसुर अपराधमा निजले कारागारमा रहनु परेको अवस्था र सो अवस्थाले निजको सामाजिक प्रतिष्ठामा पुग्न गएको क्षति निजलाई पर्न गएको मानसिक तनाव र असर समेतका दृष्टिले जाहेरजवाले दिएको झुठो जाहेरीलाई जाहेरीको उल्लेखित परिणाम समेतका कारणले सहज र सामान्य मान्न सकिएन, फैसलामा लेखिएको छ।

पोखरा घर भएका विवेक पंगेनी २०७६ कात्तिक २४ गते देखि सौराहाको नमुना भिलेज रिसोर्टमा कोठा लिई बसेका थिए। २१ वर्षे पंगेनीले कात्तिक २७ गते सुरुमा फेसबुकबाट चिनजान भएको र भेटघाट हुँदै आएकी युवतीलाई पुन भेटघाटका लागि बोलाए।

उनले बोलाएपछि जाहेरवाली युवती आफ्ना दुई साथीहरु अनिशा र अन्जनासहित आएकी थिइन्। उनीहरु सबै जना विवेककै गाडीमा नमूना रिसोर्टसम्म पुगे। अनिशा र अन्जना त्यही दिन फर्के पनि युवती भने २७ गते राति विवेकसँगे रिसोर्टमा बसिकाे र भोलिपल्ट बिहानको खाना खाएर त्यहाँबाट छुटेकाे बताइएकाे छ।

नमूना रिसोर्टको एउटै कोठामा राति सँगै खानपिन गरेर सुते पनि जरबजस्ती करणी नभएको युवकले प्रहरी र अदालतमा बयान दिएका छन् भने युवतीले अदालतमा बकपत्र गर्दा मात्र उक्त कुरामा सहमती जनाएकी छन । दुवै जनाले त्यो रात एउटै कोठामा बसे पनि फरक फरक पलङमा सुतेको उल्लेख गरेका छन्।

त्यसको केही दिन लगत्तैपछि युवतीले विवेकले आफूलाई होटलमा लगी करणी प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। उक्त जाहेरीका आधारमा विवेकलाई मंसिर २ गते पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्दा चलाइएको थियो।

Loading...