अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

अधिकारीले भने, ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनले बताए ।

अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

चैत ११ गतेबाट लकडाउन थालिएपछि देशभर एक जिल्लाबाट अर्को जिल्लाका लागि सबारी चलाउन सयौं पास जारी भएका छन् । जिल्लाभित्र आवागमन गर्न भने प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार निर्णय लिनसक्ने सहप्रवक्ता अधिकारीले बताए ।

यस्तै सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंक/वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको सहप्रवक्ता अधिकारीले बताए ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

Loading...