काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् ।
१२ आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले शुक्रवार संयुक्त अपिल जारी गर्दै विद्यान संशोधन विधिसम्मत नै रहेको ठहर गरेका छन् ।
विधानमा यदि यसमा चित्त नबुझे फेरि पनि विधिकै आधार लिई समाधान गर्न सकिने कुरा स्मरण गराउँदै आफुखुसी विज्ञप्तिवाजी नगर्न सबैपक्षलाई सचेत गराइएको छ ।
संयुक्त अपिलमा भनिएको छ– ‘वर्तमान परिवेशमा महासंघका उच्च पदस्थ व्यक्तित्व, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र आवद्द संस्थाका मुख्य जिम्मेवार व्यक्तिहरुसमेतले बेग्लाबेग्लै प्रकाशन गरेको विज्ञप्ति र ती विचारहरुको विषयमा भएका आ–आफ्ना टिप्पणी एवम् अमर्यादित तथा गैर साङ्गठनिक अभिव्यक्तिहरुले महासङ्घको विधानको प्रस्तावना, मार्गदर्शक सिध्दान्त, उद्देश्य र एकता प्रति गम्भिर आँच पुग्ने हुँदा यथाशीघ्र अभिव्यक्तिहरु सच्याई प्रचलित विधिमा सरिक भै समाधान गर्न जोडदार अपिल गरिन्छ ।’
महासंघका अध्यक्षका सम्बन्धमा नेपाल शिक्षक संघ, महासंघका महासचिव एवं नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी गर्दै आरोपप्रत्यारोप गरेका थिए ।
हेर्नुहोस् संयुक्त अपिल
नेपाल शिक्षक महासङ्घका आवध्द–सम्वध्द संस्थाहरुको तर्फबाट
अपिल
नेपाली शिक्षकहरु आफ्नो पेसाको मर्यादा कायम गर्न, हक र अधिकारको प्राप्ति गर्न, सेवा, सुरक्षा लगायत गुणस्तरीय सेवा प्रदान गरी सम्मानित पेसा निर्माण गर्न, शिक्षक सङ्गठनलाई वैैधानिकता दिलाउने उद्देश्यले निर्दिष्ट भएर २०३६ सालमा ने.रा.शि.सङ्गठनको गठन गरी एक दशक निरन्तर क्रियाशील रहँदै आएको र प्रजातन्त्रको पुनर्बहाली पछि अर्को एक दशक शिक्षक एकताको मूल्य, मान्यतालाई एकातिर पन्छाएर बैचारिक धारको आधारमा साझा सङ्गठन चिरा चिरा भै फुटको अभियान चल्यो । जसले नेपाली शिक्षकहरुले प्राप्ति भन्दा गुमाउने चरण रह्यो ।
यसबाट पाठ सिक्दै फुटले गुमाउछ र जुटले उपलब्धिमा पुयाउँछ भन्ने चेतनाको विकाससँगै विभिन्न चरणमा एकताको प्रक्रियालाइ तत्कालीन नेपाल शिक्षक युनियन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियनबीच एकता भइ २०७१ माघ २७ गते विद्यालयतहमा कार्यरत शिक्षक एवम् कर्मचारीहरुको साझा, स्वतन्त्र र वैधानिक मान्यता प्राप्त गर्ने उदेश्यकासाथ नेपाल शिक्षक महासंघको विधिवत घोषणा भएको हामी सम्पूर्णलाई अवगत नै छ ।
साथै, यतिबेलासम्म आइपुग्दा थुप्रै महत्वपूर्ण उपलब्धी प्राप्ति भएको छ तथापी पूर्णता भने पक्कै भएका छैनन् । मुलतः अधिकार र कर्तव्यका लागि शिक्षक एकताको सन्देशले समस्त शिक्षा सरोकारीहरु वीच विश्वासको वातावरणको निर्माण भएको कुरा हामी सबैमा सर्व विधितै छ । अहिले पनि शिक्षा क्षेत्रका थुप्रै लक्ष्यहरु प्राप्तिमा हामी पुग्न जरुरी छ ।
शिक्षाको विकास शैक्षिक सरोकारीहरुको उच्च मनोबलले मात्र सम्भव हुन्छ भन्ने मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन तथा सरकार र महासंघ वीच पछिल्लो पटक भएका ३० बुँदे सम्झौताहरूलाई कार्यान्वयन गराउन जरुरी छ ।
विशेषतः स्थायी शिक्षकहरुको आवधिक बढुवा, विद्यालय कर्मचारीहरुको दरवन्दीको सृजना गरी तलव सुबिधाको यकिन र उपदानरपेन्सनको प्रबन्ध, पूर्व बालविकास तहमा कार्यरत शिक्षकहरुको सुविधा वृद्धी र सुरक्षाको प्रत्याभूति, सेवा प्रवेश गरेकाहरुको निवृतिभरणको लागि सेवा अवधिको गणना, आन्दोलनको समयमा सेवाच्यूत गरिएका शिक्षकहरुको पूनर्वहाली, राहत, साविक उच्च मा.वि., विविध कारणबाट आन्तरिक र बाह्य परीक्षामा सामेल हुनबाट बञ्चितहरुलाई समावेस गराउन, निजी विद्यालयमा कार्यरत शिक्षकहरुको सामाजिक सुरक्षाकोषको प्रबन्ध लगायत
पेसागत सुरक्षाको ग्यारेन्टी, शिक्षक अस्पतालको व्यवस्था र सो नभएसम्म शिक्षकका परिवारहरुको सहुलियतपूर्ण उपचारको व्यवस्था, शिक्षकहरुको सेवा प्रवेश, बढुवा, तालिम एवं वृतिविकासका विधि र प्रक्रियागत व्यवस्थाको लागि संवैधानिक रुपमा स्थायी व्यवस्था लगायत पेसागत अधिकारहरुको प्राप्ति र राष्ट्रको समग्र उन्नयनको लागि शैक्षिक मार्गदर्शन दिनु पर्ने ज्वलन्त सवालहरु नेपाल शिक्षक महासंघको वर्तमान चुनौती र दायित्व रहिरहेको यस सन्दर्भमा केहि समय यतादेखि सामाजिक सञ्जालमा महासंघको मुल्य मान्यता र मूल मर्ममा नै नकारात्मक असर पुग्ने गरी शब्द वर्षा भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
हरेक क्षण र मुद्दाहरुमा समस्या हुन्छ त्यस्का समाधानहरु पनि हुन्छन् । जहाँ समस्या, त्यहाँ समाधान भने झै समस्या समाधानको निर्धा्रित विधि, प्रक्रिया हुन्छ भन्ने तथ्यलाई बिर्सेर संख्या र शक्तिलाई आधार मानी शब्द वर्षाको शैलीले आम शिक्षकहरुको एकता, विश्वास, मूल्य मान्यता र लिनु पर्ने उपलब्धिको अवस्था के हुन्छ ? लामोसमय सम्म एकता, संघर्ष र पुनः एकताको इतिहासलाई फर्केर हेर्दा स्पस्ट छ कि फुटेर होइन जुटेरमात्र पेसागत समस्याको समाधान गर्न सकिनेछ ।
अतः यो मर्मलाई आत्मसात गरी आन्तरिक समस्याहरुको निराकरण विधानले दिएको अधिकारलाई उपयोग गरी गर्न सकिनेछ । अहिले विद्यमान समस्याको बारेमा पनि प्रक्रियागत विधि पुरा गरेर नै विधान बनेको छ, त्यस्को बैधानिकता तोकिए बमोजिम नै भएको हाम्रो ठहर छ । यदि यसमा चित्त नबुझे फेरि पनि विधिकै आधार लिई समाधान गर्न सकिने कुरा हामीले स्मरण गराइरहनु पर्ला जस्तो लाग्दैन ।
वर्तमान परिवेशमा महासंघका उच्च पदस्थ व्यक्तित्व, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र आवद्द संस्थाका मुख्य जिम्मेवार व्यक्तिहरुसमेतले बेग्लाबेग्लै प्रकाशन गरेको विज्ञप्ति र ती विचारहरुको विषयमा भएका आ–आफ्ना टिप्पणी एवम् अमर्यादित तथा गैर साङ्गठनिक अभिव्यक्तिहरुले महासङ्घको विधानको प्रस्तावना, मार्गदर्शक सिध्दान्त, उद्देश्य र एकता प्रति गम्भिर आँच पुग्ने हुँदा यथाशीघ्र अभिव्यक्तिहरु सच्याई प्रचलित विधिमा सरिक भै समाधान गर्न जोडदार अपिल गरिन्छ ।
१. शंकर अधिकारी– अध्यक्ष, एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन
२. घनश्याम पाठक– अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्घ
३. सानोभाइ कार्की– अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्घ
४. यादवराज पाण्डेय– अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक परिषद
५. बहादुर खड्का– अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद्
६. होमकुमार थापा– अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन
७. भगवानदास चौधरी– अध्यक्ष, नेपाल शिक्षक मंञ्च
८. सत्यनारायण साह– महासचिव, मधेशी शिक्षक फोरम नेपाल
९. रामेश्वर प्रसाद यादव– अध्यक्ष, नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशन १०. विष्णु कुमार चौधरी– अध्यक्ष,मधेशी शिक्षक फोरम (लोकतान्त्रिक)
११. विजयरत्न बज्रचार्य– अध्यक्ष,अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन १२.रमाकान्त चौधरी– अध्यक्ष,मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च