राजधानीमा समस्यामा परेका पत्रकारहरुलाई राहत वितरण

काठमाडौं, ९ बैशाख । क्रान्तिकारी पत्रकार संगठनले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले गरेको लामो लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुलाई संगठनले राहत वितरण गरिएको संगठनका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए ।

संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष शैलेश डंगोलको पहलमा राहत सामाग्रीहरु संगठनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराएको हो । चामल, दाल, नुन र तेलको राहत प्याकेजले लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई केही हदसम्म भए पनि समस्या समाधान हुने संगठनले जनाएको छ । साथै याे अभियान जारी रहने पनि संगठनले जनाएकाे छ । 

अध्यक्ष डिल्लीराज रावतले संगठनले पहिलो चरणमा दुई दर्जन बढी साथीहरुलाई राहत वितरण गरिएको जानकारी दिए । उनले लकडाउनका कारण धेरै श्रमजीवी पत्रकारहरु एक छाक धान्न पनि मुस्किल पर्ने अवस्थामा रहेको बताउँदै नेपाल पत्रकार महासंघ सहित पत्रकारहरुका संघ, संगठन तथा संस्थाहरुलाई यसतर्फ ध्यान दिन पनि आग्रह गरे । आफ्नो कोठामा चुलो नबले पनि अरुका समस्याका समाचार लेख्ने पत्रकारहरुका पीडा पत्रकारकै संघ संस्थाहरुले बुझ्नुपर्ने पनि उनले बताए । उनले आफ्नो संगठनले पहिलो चरणमा सांकेतिक रुपमा केही थोरै साथीहरुलाई सानो राहत वितरण गरिएको उल्लेख गर्दै अन्य संगठन र सरकारलाई समेत श्रमजीवी सञ्चारकर्मीका समस्या बुझ्न पनि आग्रह गरे ।

कोरोेना महामारीका कारण देश लकडाउनमा गएपछि अधिकांश सञ्चारगृहहरु बन्द रहेका छन् । धेरैजसो छापा माध्यमहरु बन्द छन भने विद्युतीय सञ्चारमाध्यम र अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले घरमै बसेर काम गर्नुपर्ने अवस्था छ । सञ्चारमाध्यम बन्द रहेको र आम्दानीका स्रोतहरु समेत बन्द भएका कारण धेरै सञ्चारमाध्यमका व्यवस्थापकहरुले श्रमजीवीहरुलाई तलब दिन सकेका छैनन । त्यसले ठूलो संख्यामा पत्रकारहरु समस्यामा परेका छन् । यस्तो अवस्थामा पनि पत्रकारहरु भने फिल्डमा खटेर रिपोर्टिङ गरिरहेका छन् । लकडाउनले काम ठप्प भएपछि समस्यामा परेर लामो दुरी पैदलै तय गरेर घर फर्कन बाध्य भएका मजदुर, ज्यामीका पीडा सुन्ने र उनीहरुका पीडाका रिपोर्टहरु प्रकाशन प्रशारण गर्ने सञ्चारकर्मीहरु आफ्नै पीडा भने सुनाउन पाउँदैनन ।

Loading...