कोरोना भाइरस संक्रमित युवती काठमाडौं उपत्यकाकी, सामान्य खोकी लागेपछि उनले आफैं अस्पतालमा फोन गरेकी थिइन्

काठमाडाैँ १० चैत । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ। कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ देखिने भनेको संक्रमण छैन भनेको हो।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती युवतीलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन्। सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सामान्य सुख्खा खोकी बढेपछि उनले शुक्रबार टेकु अस्पतालमा सम्पर्क गरेकी थिइन। त्यसपछि उनलाई अस्पताल आउन चिकित्सकले सुझाएका थिए।

शुक्रबार अस्पताल पुगेकी उनलाई आइसोलेसनमा भर्ना गरियो। हामीले उनको स्वाब त्यहीँ दिन प्रयोगशालामा परीक्षणका लागि पठायौं, अस्पतालका निर्देशक सागरराज भण्डारीले भने। आइतबार आएको नतिजामा युवतीमा कोरोनाको संक्रमण देखिएको हो । निर्देशक भण्डारीले अहिले बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जानकारी दिए । उनले बिरामीलाई छुट्टै कोठामा राखिएको बताए । उनमा अहिले थप लक्षण देखिएको छैन। अवस्था सामान्य छ। तर १४ दिन निगरानी राख्छौं,उनले भने।

दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिए बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । ती युवतीमा कोरोना भाइरस देखिएपछि उनको परिवारलाई पनि सरकारले क्वारेन्टिनमा बस्न लगाएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनी आएको प्लेनमा सँगै आएका अरू यात्रुको खोजी भइरहेको जानकारी दिए।

Loading...