काठमाडौ, ६ चैत । बुधबार साँझ नक्कली मुद्रा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् ।
उनीहरुले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा तामाङको साथबाट एक हजार दरका २२ हजार रुपियाँ र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको एक हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली मुद्रा बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।