संकटको बेलामा ग्यास लुकाउनेको लाइसेन्स खारेज गरिने

काठमाडौं, ३ चैत। खपतको तुलनामा बढी ग्यास आयात भइरहेको बताएको सरकारले बजार हस्तक्षेप गर्ने चेतावनी दिएको छ । ५० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहे पनि उपभोक्ताले ग्यास नपाएपछि सरकार बजार हस्तक्षेप गर्नेतर्फ ध्यान दिएको हो ।

सोमबार सिहंदरबारस्थित मन्त्रालयमा सरोकारवालालाई बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा सहजता नदिए बजार हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् । उनले ग्यास वितरणमा सहयोग नगरे व्यवसायीविरुद्ध नेपाली सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् ।

उपभोक्तासँग रहेको जुनसुकै ग्यासको सिलिन्डर साटिदिन आग्रह गरेका उनले सरकारबाट नाफाको निश्चित गरिएकाले ग्यास विरतणमा जिम्मेवार बन्न निर्देशन दिएका छन् । अन्यथा संकटको बेलामा सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिँदै मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रियासमेत अघि बढाउने चेतावनी दिए ।

ग्याससहित पेट्रोलियम पदार्थको सहज वितरणबारे गरिएको छलफलमा ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारी सहभागी थिए । सो क्रममा मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा सरकारी अंगहरुले सहयोग गरे भए जानकारी गराउन व्यवसायीलाई भने ।

जवाफमा उद्योगीहरुले उपभोक्ताबाट आवश्यकताभन्दा बढी मौज्जाद राख्दा अभाव सृजना भएको आरोप लगाए । बैठकमा मन्त्री भट्टसहित सरकारी प्रतिनिधि र उद्योगी र व्यवसायीको तर्फबाट महेन्द्र भुसाल, धर्मराज बसौला, कृष्णभक्त श्रेष्ठ, शिवप्रसाद घिमिरे, रुद्रप्रसाद कोइराला, हरिप्रसाद पाठक र कुशप्रसाद मल्ली लगायत सहभागी थिए ।

Loading...