एसईई परीक्षा केन्द्रमा निस्शुल्क सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था

नवलपरासी, ३ चैत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवेशिका परीक्षा (एसईई) का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको इकाईले जनाएको छ ।

इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षा केन्द्रलाई परीक्षा र बालमैत्री बनाउने उद्देश्यले न्यूनतम आवश्यकताका साधन उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार महिनावारी भएका छात्रालाई निःशुल्क प्याड, रुघा खोकी लागेका विद्यार्थीलाई मास्क र लेख्दालेख्दै कलमको मसी सकिएमा वा बिग्रिएमा कलम उपलब्ध गराउने व्यवस्था गरिँदैछ ।

इकाईले प्याडका लागि स्थानीय जागृति बाल तथा युवा सरोकार नेपालसँग आग्रह गरेपछि ४० हजार रुपियाँ बराबरको महिनावारी प्याड प्राप्त गरेको छ । हरेक छात्रालाई सरदर दुईवटा पुग्ने गरी महिनावारी प्याड व्यवस्था गरिएको छ । त्यस्तै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपुरले २० हजार रुपियाँ बराबरको कलम र रोटरी क्लब कावासोतीले २० हजार रुपियाँ बराबरको मास्क उपलब्ध गराएको छ ।

एकाइ प्रमुख पोखरेलले कुल परीक्षार्थीको ३८ प्रतिशतलाई पुग्ने गरी कलम र आठ प्रतिशतलाई पुग्ने गरी मास्कको व्यवस्था गरिएको जानकारी दिए । बजारमा मास्क धेरै खोजी गर्यौँ । तर उपलब्ध हुन सकेन । सबै परीक्षार्थीलाई अनिवार्य रूपमा मास्क लगाउन भनेका छौँ । कसैकसैले बिर्सिएको वा किन्न नसकेको अवस्था पनि रहन्छ । उनीहरुका लागि परीक्षा केन्द्रमा नै मास्क उपलब्ध हुने छु उनले भने ।

चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा नवलपुर केन्द्रमा २५ परीक्षा केन्द्र कायम गरिएको छ । उत्तिनै संख्यामा केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३३० जना परीक्षा सहायक, ६६ जना कार्यालय सहयोगी १३३ र सुरक्षाकर्मी २५० जना परिचालित गरिने भएको छ । नियमिततर्फका ६ हजार ४६५ र एक्जाम्टेडतर्फका ११० गरी कुल ६ हजार ५७५ जना परीक्षार्थी रहनेछन् । तीमध्ये छात्रा ३ हजार ३३६ रहेका छन् ।

केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रममा आज नै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, नवलपुर शाखाका अध्यक्ष रविन्द्र न्यौपानेले प्रत्येक केन्द्रमा १००-१०० प्रति पुग्ने गरी २५०० वटा कलम हस्तान्तरण गरेका छन् ।

Loading...