दाँतको उपचारका लागि आएकि बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

बुटवल, ३ चैत । दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । मृतकका आफन्तले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात गरेको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए।

‘बिरामीको आफन्त हुँ भन्ने २५र२६ जनाको समूहले एकाएक अस्पतालका चिकित्सक, कर्मचारी, सुरक्षागार्ड लगायतलाई कुटपिट गरी घाइते बनाएका छन्,’ व्यवस्थापक ढकालले भने । अहिले पनि आक्रमण गर्ने समूह अस्पतालमै रहेको ढकालले जानकारी दिए । गत शुक्रबार दाँतको उपचारका लागि नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ बाट उपचारका लागि आएकी यमकुमारी पुनको अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप छ।

मृतक पुनका देवर धर्म बहादुर पुनले भाउजूलाई दाँत दुखेर उपचार गर्न ल्याएकोमा अस्पतालले ज्यान लिएको आरोप लगाएका छन्। उपचारको क्रममा पुनको मृत्यु भएपछि आफन्तलाई जानकारी गराउन गएका चिकित्सक अर्चन घिमिरेलाई एक्कासि कुटपिट गरेको अस्पतालमा कार्यरत एकजना चिकित्सकले बताए।कुटपिटपछि घाइते हुने चिकित्सक घिमिरे मृतक पुनको उपचारमा भने संलग्न नरहेको बताइएको छ।अहिले अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरेका छन्।

Loading...