कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट हवल्दारको मृत्यु, एक घाइते

धनगढी, ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।

आइतवार राति भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका –१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते दुवैलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतको खटिमा रेफर गरिएको थियो । प्रहरी हवल्दार जोशीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेका र ट्याक्टर धनिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Loading...