माछापुच्छ्रे बैंक सञ्चालक समितिले हटायो सिइओ सुमन शर्मालाई 

काठमाडौं, २७ फागुन । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मालाई अवकाशको पत्र थमाएको छ । सञ्चालक समितिले २१ महिना अगाडि शर्मालाई सिइओ बनाएको थियो। फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम शर्मालाई बुधबार पत्र दिँदै चैत १ बाट अवकाश दिइएको जानकारी दिएको हो।

सञ्चालक समितिले शर्मालाई हटाएसँगै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि चैत १ गतेदेखि लागु हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई बैंकको कायम मुकायम सिइओको जिम्मेवारी तोकेको छ। सञ्चालक समितिले २१ महिना अगाडि चार वर्षका लागि शर्मालाई सिइओमा नियुक्ति गरेको थियो। शर्माभन्दा अगाडिका सिइओ निरज श्रेष्ठले पनि कार्यकाल नसकिँदै राजीनामा दिएका थिए।

श्रेष्ठले राजीनामा दिएपछि सञ्चालक समितिले शर्मालाई ग्लोबल आइएमई बैंकबाट तानेको थियो। बैंकहरूका सञ्चालक समितिले सिइओहरुलाई व्यवसाय विस्तारको दबाब दिँदै आएका छन्। सञ्चालकको टार्गेट पूरा गर्न नसक्दा कि त आफै बाहिरिने अथवा सञ्चालकहरुले नै दबाब दिने अवस्था सिर्जना भएको छ।

यस बैंकको प्रमुख शेयरधनीहरूमा एनआरएन समूहको मुख्य लगानी छ। सञ्चालक समितिको अध्यक्षमा वीरेन्द्र प्रसाद महतो छन्। बैंकमा उनको ०.६१ प्रतिशत सेयर छ। त्यस्तै सुरेन्द्र महतोको सेयर १२.४७ प्रतिशत छ। एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ९.१४ प्रतिशत सेयर छ। लगातार दुई प्रमुख कार्यकारीले नै कार्यकाल पुरा नहुँदै छोड्ने अवस्था आएको हो।

Loading...