काठमाडौं । ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाल पक्राउ परेका हुन् ।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
मनोजले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरको जाहेरी प्रहरीमा दर्ता भएको थियो ।
सात अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन । जलेश्वर स्वच्छन्द बिकोई प्रालि हो उनको निर्माण कम्पनी । पछिल्लो समय सो निर्माण कम्पनी आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको छ ।
टावर बनाउन स्वच्छन्द बिकोईले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । साहु कम्पनीले उपकरण लगेपछि भेटवाल भारततिर लागेका थिए । नेपाल आएको मौका पारेर प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।
०६८ असार २६ गते काठमाडौं महानगरपालिका नगरपरिषद्ले २३ रोपनी ५ आना जग्गामा सार्वजनिक निजी साझेदारी मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो ।
०७१ फागुनमा सो टावरको टेण्डर भेटवालको कम्पनीले पाएको थियो । ३० बर्षे लिजमा लिएको विल्डर्सले पाँच बर्षमा निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर अझैसम्म टावरको डीपीसी समेत तयार भएको छैन् । टावरको शिलान्यास उपराष्ट्रपती नन्दबहादुर पुनले गरेका थिए ।