राष्ट्रिय सभाका १८ सदस्यले आज शपथ लिंदै

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नव निर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उनीहरुलाई शपथ गराउनेछन्‌ ।  राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत माघ २४ गते निर्वाचन भएको थियो।

निर्वाचित सदस्यहरुले आजदेखि औपचारिक रुपमा जिम्मेवारी पाउनेछन् । सपथ लिन लागेका नवनियुक्त १८ जना सांसदमध्ये १६ जना नेकपाका रहेका छन्।  राजपाले दुई सिट जितेको छ । नवनियुक्त सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल,राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल,भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले सपथ लिन लागेका संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभाका एकचौथाइ सदस्य अर्थात् १९ जना सांसदको दुईवर्षे कार्यकाल गएरातिदेखि सकिएको छ । उनीहरुको हिजोको राष्ट्रियसभा बैठकमा बिदाई गरिएको थियो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९ जना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ७ जना, राष्ट्रिय जनता पार्टी (राजपा) बाट २ जना र समाजवादी पार्टीबाट १ सांसदको पदावधी सकिएको हो। पहिलो पटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो। जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जना सांसदको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ गरिएको हो।

Loading...