चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, सबै जना आज घर जाँदै

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिए ।

उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो । गत वर्ष डिसेम्बर महिनाको अन्तिम साता देखिएको कोरोना भाइरस कोभिड १९ को अहिले विश्वका ६४ देशमा फैलिइसकेको छ ।

कोरोनाबाट विश्वभरि ३ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, ८८ हजार ४ सय ४३ जनामा भाइरसको संक्रमण देखिइसकेको छ । चीनमा मात्रै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ भने ८० हजार २६ जना यस भाइरसबाट संक्रमित छन् । र, ४४ हजार ४ सय ६२ जना उपचारपछि घर फर्किईसकेका छन् ।

Loading...