राष्ट्रियसभा सदस्य मनोनयनका लागि नेकपा सचिवालय वैठक बस्दै

काठमाडौं, १८ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को आज (आइतबार) सचिवालय बैठक बस्दैछ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने जनाइएको छ । नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए । उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।

तर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद चुलिएको छ । यहीबीच बस्न लागेको नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ । बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

Loading...