सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो

काठमाडौं,१२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा व्यापारमा मन्दी आएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगो हुँदा नेपालमा पनि सुनको भाउ निरन्तर उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। भाउ बढेपछि नेपालमा सुनको कारोबार झण्डै ७० प्रतिशतले गिरावट आएको छ।

नकिनी नहुने अवस्थामा बाहेक नेपालमा मानिसहरुले सुन नकिनेकाले कारोबार घटेको हो। आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५ रुपैयाँ बढेर आज चाँदी ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Loading...