नेकपा अध्यक्ष ओली आफैंले गरे पार्टी आचारसंहिता उल्लंघन

काठमाडौं, १२ फागुन । जो अगुवा उही बाटो भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो ।

सो आचार संहिताको दोस्रो बुँदामा भनिएको छ, । ‘जन्म दिन ब्रतबन्ध पास्नी जस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ ।

’तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाइदिएका छन् ।पार्टीभित्र विधिविधान र नियम कानून सानालाई मात्र लागू हुन्छ भन्ने सन्देश प्रधानमन्त्रीको व्यवहारले देखाइदिएको छ ।

यतीको हेलिकप्टरमा नेपालको नक्शा अंकित केक !

आचारसंहितामा ‘बर्थ डे’ घर परिवारमा मात्र सीमित गर्नुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीको जन्मोत्सवमा तेह्रथुमको आठराईमा नेपालको नक्शा अंकित केक हेलिकप्टरमा लगिएको थियो । ओलीको जन्मोत्सव मनाउन चारवटा हेलिकोप्टर आठराई पुगेका थिए । यती समूहका सोनाम शेर्पा नेपालको नक्शा स्वरुपको केक लिएर आफ्नै हेलीकप्टरमा प्रधानमन्त्रीलाई शुभकामना दिन पुगेका थिए ।

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि चर्को आलोचना भएको छ । कतिपयले भारत, अमेरिका लगायत विदेशमा पनि सरकार प्रमुखको जन्म दिनमा देशको नक्शा अंकित केक काट्ने गरिएको तर्क गरेका छन् ।

तर, विदेशमा त्यस्तो प्रचलन छ भन्दैमा नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारतर्फ सोझिएको जनआक्रोशमा प्रधानमन्त्री ओलीको तडक–भडकपूर्ण राजसी जन्मोत्सवले आगो घिउको काम गरेको छ । अब पार्टीको आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई पार्टीले के कारवाही गर्छ या गर्दैन, हेर्न बाँकी छ ।

Loading...