कोरोनाले लियो फेरि अर्का एक डाक्टरको ज्यान

बेइजिङ, ११ फागुन । पछिल्लो समय चीनमा कोरोना भाइरस कोभिड–१९० का कारण सर्वसाधरण मात्र होइन उपचारमा संलग्न डाक्टरहरुकै समेत ज्यान जान थालेको छ । कोरोना भाइरसबाट हुपेइ प्रान्तको बुहान शहरमा फेरि एक अर्का डाक्टरको ज्यान गएको छ ।

कोरोना संक्रमणले वुहानस्थित सिची जाङबे अस्पतालका डाक्टर सिया सिसिको मृत्यु भएको उक्त अस्पतालको आधिकारिक विच्याट अकाउन्टमा जानकारी दिइएको सीएनएनले जनाएको छ । २९ वर्षीय डा सीसी गत जनवरी १९ मा अस्पताल भर्ना भएका थिए । उनको वुहानको जोङनान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि गत बिहीबार वुहानकै डाक्टर २९ वर्षका पेङ यिनहुवाको कोरोनाको संक्रमणपछि मृत्यु भएको थियो । यसअघि वुहान अस्पतालका निर्देशकको पनि कोरोनाकै कारण निधन भएको थियो । जनवरीमा चीनमा कोरोनाको पहिलो जानकारी दिने डाक्टर लि विनलियाङको मृत्यु भएपछि चिनियाँहरुले सरकारको आलोचना समेत गरेका थिए ।

आइतबारसम्म विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ । मृतकको संख्या दुई हजार ४६१ जना पुगिसकेको छ । चीनमा मात्र दुई हजार चार सय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन् ।

Loading...