मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्छः प्रचण्ड

काठमाडौं,१३ माघ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्न आवश्यक रहेको धारणा राखे।

उनले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनिनसकेको बताए। ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन’, उनले भने, ‘एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ।’

संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उनले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राखे । उनले सबै खालको विभेदको अन्त्य गरी समतामूलक सामाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताए।

आफू १५ देखि २० गतेसम्म हुन लागेको केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराए । बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताए। उनले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताए। पार्टीको केन्द्रीय कमिटी बैठक माघ १५ देखि २० गतेसम्म डाकिएको छ।