इटहरी, ८ माघ । विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो ।
यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार भेला भएका थिए । उत्सवमा विद्यालय शिक्षा र साहित्य, कविता वाचन, अन्तरसंवाद अनि कविता प्रतियोगिता पनि भएको थियो ।
साहित्यकार मिश्र बैजयन्तीले विद्यालय शिक्षा र साहित्यबारे चर्चा गरिन् । पुस्तकलाई मानिसको अभिन्न अंगको रुपमा लिनुपर्ने उनले बताइन् । ‘कक्षा कोठामा नपाइने ज्ञान किताबले दिन्छ’ उनले भनिन्, ‘त्यसैले ज्ञान बटुल्नका लागि अध्ययन जरुरी छ ।’ उनले विद्यार्थीलाई कम्तीमा महिनामा एउटा पुस्तक पढ्न सुझाव थिइन् ।
प्राडा टंक न्यौपानेले विद्यार्थीलाई साहित्यमा उत्प्रेरणा गराउने कार्यक्रम गरेकामा खुसी व्यक्त गरे । विद्यार्थीको मनोभावना र लयबद्ध तरिकाले पढाउन सके मात्र विद्यार्थीले रुचिपूर्वक पढाइमा ध्यान दिने बताए । विद्यार्थीमा उत्सुकता किन र कसरी बढाउने भन्नेबारे मनु मन्जिल, सीमा आभास, सुदिप पाख्रिन र इरान राई सहभागी थिए ।
साहित्यमा विद्यार्थीको अभिरुचि जगाउने उद्देश्यले पहिलोपल्ट पूर्वमा समता उत्सव आयोजना गरेको समता पूर्वी क्लस्टरका साहित्य तथा सांस्कृतिक दूत बिमल वैद्यले बताए । पूर्वमा रहेका समता स्कुलका मावि तहका १० जना विद्यार्थीबीच कविता प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा लहानकी कृतिका पल प्रथम, दमकका वसन्त चापागाई दोस्रो, इटहरीकी आशिका राई तेस्रो भइन् । यस्तै, विराटनगरकी दीक्षा आचार्य र इलामकी मुना आचार्यले सान्त्वना पुरस्कार प्राप्त गरे ।