देशभर मौसम बदली, २ दिन वर्षा र हिमपात हुने

काठमाडौँ, २ माघ । वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज बिहीबार देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय वायु प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ । यो प्रणालीले देशका धेरैजसो भूभागमा पानी पार्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखा अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भिषण हिमपातको सम्भावना रहेको छ । महाशाखाले यस्तै मौसम अवस्था भोलीसम्म जारी रहने जनाएको छ । शनिबारदेखि भने मौसममा सुधार हुने बताइएको छ ।

आज दिनभर काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा घाम लाग्ने सम्भावना कम रहेको छ । काठमाडौँमा अहिले मौसम बदली भएको छ र दिउँसोसम्म पानी पर्न सक्छ । बदली भएसँगै चिसोको मात्रा पनि बढेको छ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकामा न्युनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौँको अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान छ ।

Loading...