टुँडिखेलमा माघी महोत्सव

काठमाडौं । थारु समुदायको नयाँ आर्थिक वर्ष माघीको अवसरमा अाज बुधबारदेखि टुँडिखेलमा ‘माघी महोत्सव’ सुरु हुने भएको छ।

दुई दिनसम्म चल्ने महोत्सवको अाज दिउसाे १ बजे पूर्वप्रधानमन्त्री एवं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक कनुलाल चौधरीले बताए।

उनका अनुसार विहान १०:३० बजे बसन्तपुरबाट झाँकी र्‍यालीको आयोजना गरिएको छ। महोत्सवको पहिलो दिन मंगलबा मोटरसाइकल र्‍याली,रक्तदान र फुटबल कार्यक्रम सम्पन्‍न भएको छ। रक्तदानमा सयजनाले रक्तदान गरेको उनले बताए। महोत्सवमा १५० वटा स्टल राखिएका छन्।

स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तक, थारु समुदायको महिला र पुरुषले लगाउने विभिन्न पहिरनका सामग्री राखिएका छन् । यसैगरी, थारु परिकारमा ढिक्री, अनदीको भात, लाया, घोँघी, सुँगुरको मासु, माछा, सिपी, गँगटा, सिध्रा तथा जाँड राखिएको समितिका प्रचार प्रसार विाग प्रमुख चन्द्रप्रसाद चौधरीले बताए।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा करिब ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। यसैगरी महोत्सवमा मंगलबारबार साँझ टुँडिखेलमा सुँगुर काटेर प्रसादको रुपमा वितरण गरिएको माघी मुल आयोजक समितिका आर्थिक विभाग प्रमुख सीताराम चौधरीले बताए।

माघी पर्वमा थारु समुदायले पाप काम नगर्ने भन्दै पुसको अन्तिम दिन मासु खाने गर्दछन्। माघीको दिन थारु समुदायले बिहानै कुखुरा बासेपछि सामूहिक रुपमा जलाशयमा गएर स्नान गरी पुर्खाको आशीर्वाद थाप्ने गर्दछन्।

कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघ मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ।

Loading...