नदीजन्य वस्तु तस्करी रोक्न गएका धनुषाका युवकको टिपरले किचेर ‘हत्या’

जनकपुरधाम, २५ पुस । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको बताए । महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यही उनीमाथि टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ । चालकको नाम भने प्रहरीले खुलाएको छैन । यसैबीच घट्नाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयहरुले चक्काजाम गरेका थिए । यद्यपि, प्रहरीले अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन सञ्चालनमा ल्याएको छ ।

Loading...