माघ ३ गते सातै प्रदेशबाट ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ थाल्दै समाजवादी

काठमाडौं, २४ पुस। समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान विसु अभियान २०२० सञ्चालन गर्ने भएको छ । समाजवादी पार्टीका सहअध्यक्ष तथा विसु अभियानका संयोजक राजेन्द्र श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए ।

अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरु सातै प्रदेशका कार्यक्रममा भाग लिने छन् ।प्रदेश नं १ मा वरिष्ठ नेता अशोक राईले अभियानको उद्घाटन गर्नेछन् । प्रदेश नं २ मा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, प्रदेश नं ३ मा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रदेश नं ४ गण्डकी प्रदेश मा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, प्रदेश नं ५ मा उपाध्यक्ष नवराज सुवेदी, प्रदेश नं ६ कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र प्रदेश नं ७ सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले उद्घाटन गर्ने छन् ।

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियान्ता रहने छन् । सम्बन्धित जिल्लाका सिनियर केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइने छ । पार्टी एकताको उर्जालाई संगठन विस्तार कार्यमा बदल्नका लागि अभियान सञ्चालन गर्न लागिएको नेता श्रेष्ठले बताए । अभियानले पार्टीको नीति तथा कार्यक्रम स्थानीय तहसम्म पुग्ने र पार्टी विस्तारमा उर्जा थप्ने उनले बताए ।
समाजवादी पार्टीले अभियानमार्फत गाउँपालिका र नगरपालिकाको वडामा वडा समिति र गाउँ तथा टोलमा प्रारम्भिक समिति बनाउने छ । ‘प्रारम्भिक समिति सबभन्दा तल्लो इकाइ हो,’ सार्वजनिकसँग संयोजक श्रेष्ठले भने, ‘पार्टी एकताको उर्जालाई संगठनमा रुपान्तरण गर्ने, गाउँ र टोलसम्म पार्टी संगठन बनाउने, पार्टीको विचार फैलाउने, पार्टी प्रवेश गराउने र पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यका साथ अभियान चलाउन लागेका छौं ।’

अभियानको अवधिभर पार्टीका उपाध्यक्षहरुलाई अनुगमनको जिम्मेवारी दिइएको छ । प्रदेश नं १ मा रकम चेम्जोङ, प्रदेश नं २ मा लालबाबु राउत, प्रदेश नं ३ मा हिसिला यमी, प्रदेश नं ४ गण्डकी प्रदेशमा हेमराज राई, प्रदेश नं ५ मा नवराज सुवेदी, प्रदेश नं ६ कर्णाली प्रदेश मा युवराज कार्की र प्रदेश नं ७ सुदुरपश्चिम प्रदेश मा पनि युवराज कार्कीलाई नै अनुगमनको जिम्मेवारी दिइएको छ ।

समाजवादी पार्टीको संगठनात्मक संरचना तल्लो इकाइदेखि माथिल्लो तहसम्म यस्तो हुनेछ ।
१. टोलमाः प्रारम्भिक समिति ।
२. वडा तहमाः वडा समिति ।
३. गाउँ तथा नगर तहमाः गाउँपालिका र नगरपालिका समिति ।
४. जिल्ला तहमाः जिल्ला समन्वय समिति ।
५. दश प्लस एक प्रदेश तहमाः पहिचानमा आधारित राष्ट्रिय समिति ।
६. प्रदेश तहमाः प्रदेश तथा प्रशासनिक समिति ।
७. केन्द्रीय समिति ।
८. संघीय परिषद ।
९. महाधिवेशन । विधानतः महाधिवेशन सर्वोच्च अंग हुनेछ ।

Loading...