भोलिबाट मौसममा सुधार आउने, लगत्तै सोमबारबाट पानी पर्ने पूर्वानुमान

काठमाडौं, २४ पुस । केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको छ । यही कारण सुदूरपश्चिमको मौसममा सुधार आइसकेको र भोलिबाट देशका मध्य र पूर्वको मौसम पनि सुधारिने मौसमविद् पौडेलले बताए । ‘पश्चिम वायुले ल्याएको न्यूनचापीय वायुका कारणले केही दिनदेखि बदली र वर्षा भइरहे पनि यो प्रणाली बाहिरिने क्रम सुरु भएकाले भोलिबाट मौसम सुधारिन्छ’, मौसमविद् पौडेलले भने ।

सोमबारबाट भित्रिने मौसम प्रणालीले पानी पार्ने

शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट फेरि वर्षा हुनसक्ने सम्भावना महाशाखाले औंल्याएको छ । सोमबारबाट न्यूनचापीय प्रणाली फेरि सक्रिय हुने र त्यसले पानी पार्ने मौसमविदको भनाइ छ । हिउँदयाममा औसतमा ५–६ वटासम्म मौसम प्रणाली आउँछन् । यस वर्ष अन्य वर्षको तुलनामा केही छिटो गरी मौसम प्रणाली भित्रिएका छन् । मौसमविद्का अनुसार, अब भित्रिने मौसम प्रणाली यो हिउँदयामको पाँचौं हो ।

यस वर्षको हिउँदमा पाँचौंपटटक भित्रिएको प्रणालीले कति दिन वर्षा हुन्छ भनेर यकिन गर्न भने नसकिने मौसमविद् पौडेलले बताए । ‘सोमबारबाट पुनः भित्रिने नयाँ मौसमी प्रणालीले पानी पार्ने देखिन्छ । तर, यसको प्रभाव कतिदिनसम्म रहन्छ भनेर अहिले नै यकिन गर्न सकिन्न’, मौसमविद् पौडेलले भने ।

Loading...