देश बनाउन युवाहरुको नयाँ संकल्प आबश्यकः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथिका रुपमा रहेका मुख्यमन्त्री शाहीले कर्णालीलाई साँच्चिकै समृद्धितिर लाग्ने हो भने सबैको निस्वार्थ संकल्प र सहयोगको खाँचो रहेको बताए । उनले देशमा आलोचनाको संस्कार बढेकोमा चिन्ता व्यक्त गर्दै ंस्वीकार र सहयोग गर्न सक्ने आँटको खाँचो रहेको बताए । देश बनाउन मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको पर्यटन विकासका लागि सहयोग गर्न मिडियालाई आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सचिव तथा राष्टिय सभा सदस्यका समानुपातिक उम्मेदवार मायाप्रसाद आचार्यले देशमा गणतन्त्र आए पनि अझै पनि परिवर्तन संस्थागत हुन नसकेको बताए । विगतभन्दा केही परिवर्तन पक्कै भएको तर त्यो पूर्ण रुपमा सोचेजति नहुँदा मानिसहरुमा निरासा जाग्न थालेको भन्दै देशमा परिवर्तनलाई संस्थागत गरी समृद्धिको बाटोतिर अघि बढ्नुपर्ने उनले जोड दिए ।

गुडलिंक मिडिया प्रा.लि.का अध्यक्ष तथा कुसेन्यूज डटकमका प्रधान सम्पादक भौतिक मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिव प्रभात चलाउने, राष्टिय समाचार समितिका कर्णाली प्रदेश संयोजक सुरजकुमार सिंह लगायतले सम्वोधन गरेका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक संकेत कोइराला र महासंघका निवर्तमान सचिव प्रभात चलाउनेलाई सम्मान गरिएको थियो । साथै कुसेन्यूज डटकममा लामो समयदेदि योगदान गर्दै आएका पत्रकारहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।