‘वँय्सु ?’ नेपाल भाषा नाटक विमोचित

काठमाडौँ, १८ पुस । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले नेपालभाषामा लेखिएका नाटकहरुको संग्रह ‘वँय्् सु ?’ पुस १५ गते मंगलवार एक कार्यक्रमका बीच विमोचन गर्नुभएको छ । मेरो साप्ताहिकको प्रकाशन रहेको सो पुस्तकका लेखक रत्न काजी मन हुनुहुन्छ ।

काठमाडौंको भुइखेलस्थित स्वयम्भू ब्याङ््क्वेटमा भएको एक कार्यक्रमका बीच विमोचित पुस्तकको बारेमा नेवाः मिडिया प्रा.लि.का अध्यक्ष सन्तकुमार महर्जनले समालोचना गर्नुभएको थियो । नाटक तथा साहित्य समाजको दर्पण भएको दृष्टान्तलाई उद्धृत गर्दै लेखक मनले रचना गर्नुभएका नाटकहरु संविधान निर्माणको क्रममा रचना गरिएका र त्यतिबेला जनताले संविधान चाँडै आओस्् र देशले निकास पाओस् भन्ने गरेको चाहना उजागर गरिएको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गुथि विधेयक आन्दोलनलाई सम्झनु हुँदै आन्दोलनबाट गुथि विधेयक फिर्ता भइ सकेपछि गुथि विधेयकमा भएका कमी कमजोरी सच्याउनका लागि मन्त्रालयबाट बोलाइएको बैठकमा सम्बन्धित गुथियारहरु नपुग्नु विडम्वना भएको बताउनु भयो ।

यसैगरी नेकपा सचिवालयले प्रदेश ३ को सन्दर्भमा गरेको नाम र राजधानीको विषयमा बताउनु हुँदै उहाँले देश पार्टी प्रणालीमा रहेको कारणले पार्टीको निर्देशन मान्दिन भन्न नपाइने तर पार्टीभित्र यस बारेमा छलफल गरिनु पर्ने बताउनु भयो । उहाँले प्रदेश नंं. ३ को नाम र राजधानीको विषयमा असन्तुष्टी व्यक्त गरेको भन्ने समाचार बाहिरिएकोमा आश्चर्य प्रकट गर्दै उहाँले पार्टी प्रणालीमा सञ्चालन भइरहेको र पार्टीले आफू अनुकुल निर्णय गरी निर्देशन जारी गर्न सक्ने बताउनु भयो ।

उहाँले तत्कालीन नेकपा एमालेका उपत्यका इञ्चार्ज राजेन्द्र श्रेष्ठलाई नेवाः ताम्सालिङ्ग बागमती प्रदेश नाम प्रस्ताव गर्दा अहिले त्यसलाई भए पनि स्वीकार गरेर जानु पर्ने बताएको सम्झनु भयो । त्यतिबेला १४ वटै प्रदेश हुनु पर्छ भन्ने अडान लिएता पनि आन्दोलन कमजोर भए पछि ७ प्रदेशमा सीमित भएको बताउनु हुँदै आन्दोलन सबल भए आन्दोलनबाट सरकार हटाउन सक्ने तर कमजोर भए सरकारले आन्दोलनलाई दबाउन सक्ने भन्दै आन्दोलन सशक्त भएकै समयमा उपलब्धीलाई संस्थागत गराउन अग्रसर हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा कामपाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल, सांस्कृतिक विभागका प्रमुख एवम्् १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाका सचिव समेत रहनु भएका मनको पुस्तक विमोचनको विशेष व्यक्तित्वका रुपमा लेखकका बुबा भाइकाजी महर्जन र आमा रत्न देवी महर्जनका साथै दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्दमान सिंहलगायतको उपस्थिति रहेको थियो ।

मेरो साप्ताहिकका सहसम्पादक विजयकुमार सिंहले स्वागत गरी सुरु भएको कार्यक्रममा व्यवस्थापक नहकूल महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

साप्ताहिकका सम्पादक मनको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन तेज रत्न महर्जनले गरेको थियो ।

Loading...