भ्रमण वर्षको पूर्वसन्ध्यामा बजाए लाय्कुको ठुलो घण्टा र नगरा

भक्तपुर, १६ पुस । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाले मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो नगरा बजाएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले गरे ।

नेपाल भ्रमण वर्षले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको विकासमा टेवा पुग्ने र आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उहा“ले पर्यटक उद्योगीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताएका थिए । परनिर्भर या पराधीन मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विचार व्यक्त गर्दै सांसद सुवालले भ्रमण वर्षमा वर्षभरि नै स्वागतका कार्यक्रमहरू गरिरहनुपर्ने खाँचो औंल्याए ।

पटक–पटक स्थगित भएको कारण देश र जनताको हितमा काम गराउन सरकारको ध्यानाकर्षण गर्न नपाएको उनले भनाइ छ । सन्तुलित विकासको अवधारणा छोडेर उपत्यकामा फेरि चारवटा सहरको परिकल्पना ल्याएर खानेपानी, फोहोरमैला व्यवस्थापन गर्नमात्र समस्या निम्त्याउने होइन प्रदूषण बढ्ने, सवारी जाम हुने र अपराधीहरूको सङ्ख्या बढेर अमनचयनमा समस्या आउने विचार उनले व्यक्त गरे ।

प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले भ्रमण वर्ष र भक्तपुर महोत्सव भक्तपुर विश्वसामु चिनाउने अवसर रहेको उल्लेख गर्दै भाषा, कला र संस्कृतिलाई जीवन्त बनाउने वर्षको रूपमा अघि बढाउनुपर्ने विचार प्रस्तुत गरेका थिए । कला, संस्कृतिबारे नयाँ पुस्तामाझ बोध गराएर सांस्कृतिक क्षेत्रमा पुनर्जागरण ल्याउन सके हाम्रो जिम्मेवारी र कर्तव्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले भक्तपुरलाई सभ्य र सुसंस्कृत सहर बनाउने काममा सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिए ।

अर्का प्रदेश सांसद सृजना सैंजुले पुरात्वातिक र नाचगानको सहर भक्तपुरमा पुरानो युगले नयाँ युगको सेवालाई सार्थक बनाउन सके पर्यटक व्यवसायी र स्थानीय जनता लाभान्वित हुने विचार व्यक्त गरे । पर्यटन उद्योगको विकासमा भनपाले अगुवाइ गरिरहेको उल्लेख गर्दै सांसद सैजुले सांस्कृतिक नगर भक्तपुर शिक्षा र संस्कृतिको केन्द्र हुने विश्वास व्यक्त गरेका थिए ।

नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले सांस्कृतिक र ऐतिहासिक नगरको पहिचान विश्वसामु पुर्याउन भक्तपुर नगरपालिकाले वर्षैभरि भक्तपुर महोत्सवमय बनाउने तयारी गरिरहेको बताए । भ्रमण वर्ष र भक्तपुर महोत्सव सफल पार्न सरसफाइ, स्तरीय शौचालय, पर्यटन सूचना केन्द्र, स्थानीय गाइड र भाषाको तालिम, जापानी र चिनियाँ भाषाको प्रशिक्षण, साँझा सांस्कृतिक प्रदर्शनी, हकर्स नियन्त्रण, पर्यावरण सुधार आदि गतिविधि गरिरहेको चर्चा गरेका थिए ।

कार्यक्रममा वातावरण तथा पर्यटन समितिका अध्यक्ष एवम् भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको जीवन्त सङ्ग्रहालयको संरक्षण गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने कार्य गरिरहेको बताए । कार्यक्रमको बीचबीचमा त्वचा गणेश समूहको माक प्याखं, पासापुचको लाखे प्याखं र भार्वाचो गणेश दाफा भजनको माक प्याखं ९नाच० देखाइएको थियो ।

सांस्कृतिक सम्पदा पदयात्राको उद्घाटन समारोहपछि दरबार क्षेत्रबाट सुरु भएको र्याली इच्छु, तालाक्व, टौमढी, सुकुलढोका, दत्तात्रय हुँदै सूर्यमढीमा पुगेर समापन भएको थियो । सन्ध्याकालीन पदयात्रालाई टौमढीमा भैल प्याखं र धिमाय् बाजा, दत्तात्रयमा देवी प्याखं र विभिन्न भजन तथा भनपा वडा नं। ९ मा तुछिमला, दबुचा, वाकुपतिनारायण र सूर्यमढीमा भजनले स्वागत गरेका थिए भने वाकुपति नारायणमा कसिमला पाँय खेलिरहेका थिए ।

Loading...