नेकपा सचिवालय बैठक: सभामुख र एमसीसी दुबैमा हुन सकेन कुनै निर्णय

काठमाडौं, १३ पुस । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज एमसीसी बारे निर्णय गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय वैठक बिना निर्णय टुङ्गिएको छ । नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, यी दुबै एजेण्डामा कुनै निर्णय गर्न नसकी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नगरेको जानकारी दिएका छन् ।

संसद कर्मचारीमाथि बलात्कारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ । यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम कारबाही प्रभावित हुँदै आइरहेको छ । आइतबार पनि यसबारे नेकपाले निर्णय लिन नसकेकाले संसदको अन्योल बढेको छ ।

एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ । अमेरिकाले यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भएको समाचार प्रकाशमा आएपछि नेकपाका लागि यो टाउको दुखाइको विषय बनेको छ । नेपालले सभामुखको चयन गर्न नसक्दा प्रतिनिधिसभा वैठकमा समेत यसको असर परेको छ । सभामुख चयन प्रक्रिया अहिले शितलनिवास, बालुवाटार र खुमलटारको चेपुवामा परेको नेताहरु बताउँछन् ।

Loading...