ठूलो परिमाणमा अवैध सुन–चाँदीको गरगहनासहित एक युवक पक्राउ

सिरहा, ६ पुस । ठूलो परिमाणमा अवैध सुन–चाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गए राति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुन चाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो ।

भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औंठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताए । पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Loading...