उपचुनावको परिणामः खस्कदो नेकपा, कांग्रेसको कछुवा उफ्राइ, सामाजिक सञ्जालमा सीमित साना दल

काठमाडौं, १६ मंसिर । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चुनाव अघि दावा गरेजस्तो परिणाम निकाल्न सकेको छैन । त्यसैगरी यो चुनावले वैकल्पिक शक्तिका रुपमा आफूलाई दावी गर्ने दलहरुलाई पत्याएको देखिएन् ।

यो चुनावमा धेरैले सरकारको कामको मुल्यांकन हुने बताएका थिए । चुनावी परिणाम हेर्दा करिव दुई तिहाई निकटको पूर्ण बहुमतको सरकारप्रति नागरिक सन्तुष्ट हुन सकेको देखिएन । पोखरा र दाङमा सहानुभूतिको भोट वाहेक यसपटक अरु ठाउँमा नेकपाको स्थिति भने पहिलेभन्दा निकै कमजोर देखियो । यसअघि जित हासिल गरेका सिट पनि उपनिर्वाचनमा नेकपाले गुमाएको छ । सत्तारुढ दल नेकपा भक्तपुर र धरानमा नराम्ररी पराजित बन्न पुगेको छ । राजधानी उपत्यकाभित्र र पूर्वको धरान नगरपालिकाको पराजय नेकपालाई नराम्रो चोट मात्र होइन, उसको आरालो यात्राको संकेतका रुपमा पनि हेरिएको छ । केन्द्रमा दुई तिहाइ दम्भ सहितको सरकार र ६ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले यदि जनअपेक्षा र आफैले गरेको प्रतिवद्धता वमोजिम काम गर्दो हो त यतिबेला पक्कै पनि यो सानो उपनिर्वाचनमा उसको राम्रो नतिजा प्राप्त गथ्र्यो । त्यति नभए पनि यसअघि जितेका सिटहरु यसपटक रक्षा गथ्र्यो । यो मत परिणामबाट पाँच वर्षका लागि चुनिएको केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको जनमत बनेको देखिन्छ ।

अर्कोतिर नेकपालाई सोझो टक्कर दिने भूमिका पाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति पनि नागरिक विश्वस्त छैनन । पाँच वर्षका लागि ढुक्क भए पनि अस्थिर सरकार जस्तै देखिएको ओली सरकारका धेरै असफलतालाई प्रतिपक्षी दलले विषय बनाउन सकेन । साथै आफूले त्यस खालको बहुमत पाए के गर्न सकिन्थ्यो भन्ने विश्वास पनि जनसमक्ष प्रस्तुत गर्न सकेको देखिएन ।

त्यस्तै मधेशमा आफ्नो जनआधार तयार पारेका संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी, आफूलाई नयाँ वैकल्पिक शक्तिको वकालत गर्दै आएको साझा पार्टी र विवेकशील लगायतका दलप्रति नागरिकको विश्वास अझै जाग्न सकेको देखिएन । पुराना शक्तिहरुले केही नगरेको र गर्न नसक्ने भन्दै बेलाबेलामा ‘नयाँ शक्ति’ को बहस चर्को रुपमा हुने गरेको भए पनि त्यसको विकल्पमा अहिलेसम्म दह्रो शक्ति भने आएको देखिदैन । सामाजिक सञ्जालमा मानिसको सकारात्मक जवाफ र समर्थन पाएर हौसिने साझा पार्टी र विवेकशील दलका साथै विखण्डनको नारा छाडेर केही समय अघि मात्र खुल्ला राजनीतिमा आएको सीके राउतलाई पनि मतदाताले पत्याएको देखिएन । तराईमा नयाँ शक्तिको रुपमा सीके राउत उदाउने अपेक्षा र चर्चाका बीच उसको दल जनमत पार्टीले शनिवार सम्पन्न उपचुनावमा बलियो उपस्थिती जनाउन सकेन ।

उपनिर्वाचनमा ‘नयाँ शक्तिको वकालत गर्ने दलहरुले पाएको मतले जनताले नयाँ होइन अझै पनि पुरानै शक्तिलाई चुन्न बाध्य भएको देखिन्छ । एक प्रतिनिधिसभा, दुई प्रदेशसभा र एक उपमहानगरमा साझाले खडा गरेको उम्मेदवारले ‘खरब प्रदर्शन’ गरेका छन् ।

माथि उल्लेखित चार निर्वाचन क्षेत्रमा डेढ लाख भन्दा धेरै मत खसेपनि साझाका उम्मेदवारले द्द हजार मत पनि कटाउन सकेनन् ।

कास्कीमा ४५ हजार ५ सय ४६ मत खसेकोमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत पाएर जित्दा नेपाली कांग्रेसका उम्मेदवार खेम राज पौडेलले १५ हजार ९ सय ९१ मत पाए । जहाँ साझा पार्टीकी रजनी केसीले जम्म ९ सय ४२ मत पाइन् ।

त्यस्तै प्रदेशसभा अन्तर्गत भक्तपुरमा भएको निर्वाचनमा ३२ हजार ३७ मत खसेको थियो । जसमध्ये नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेंलले १३ हजार ४ सय ४९ मतसहित जित हात पार्दा नेकपाका देविप्रसाद ढकालले ११ हजार २ सय ६ मत पाए । त्यहाँ पनि साझा पार्टीका उम्मेदवारले कमजोर प्रदर्शन गरेका छन् । साझाका उम्मेदवार सुरज प्रधानले ३ सय ९३ मत पाए ।

त्यस्तै दाङको उपनिर्वाचनमा पनि साझका उम्मेदवारको उपस्थिती कमजोर बन्न पुग्यो । साझाका उम्मेदवारले ३ सय मत कटाउन सकेनन् । उनले २ सय ६६ मत पाए । जहाँ नेकपाकी उम्मेदवार बिमला कुमारी खत्रीले २४ हजार २ सय ८६ मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै कांग्रेस उम्मेदवार केशव राज शर्माले १९ हजार १ सय ८२ मत पाएका थिए ।

सुनसरीको धरान उपमहानगरपालिकामा पनि साझाले कमजोर प्रदर्शन गरेको छ । कांग्रेर र नेकपाका उम्मेदवारले २० हजार भन्दा धेरै मत पाउँदा साझाका उम्मेदवारले ८० मत पाएका छन् ।

त्यस्तै सीके राउत नेतृत्वको जनमत पार्टीको अवस्था पनि कमजोर देखिएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको १० नम्बर वडाको अध्यक्षका लागि भएको मतदानमा राजपाकी मञ्जू मिश्रले ८ सय ६८ मतसहित जीत हात पार्दा जनमत पार्टीका उम्मेदवार मोहम्मद हनीफ गद्दीले २८ मत मात्र पाए । त्यस्तै वाराको बारागढी गाउँपालिका वडा नम्बर १ को मतगणनामा जनमत पार्टीका उम्मेदवार शंकर प्रसाद चौधरीले ३ भोट पाएका छन् । जहाँ समाजवादीका सुरेश प्रसाद चौधरी ६ सय ४९ मतसहित विजयी भएका थिए ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा पनि जनमत पार्टी कमजोर देखिएको छ । त्यहाँ उसले १२ मत पाएको छ भने विजयी भएका कांग्रेस उम्मेदवारले ७ सय ७१ मत पाए ।

महोत्तरीको वलवा नगरपालिका, धनुषाको पिपरा गाउपालिका, सिराहाको कल्याणपुर नगरपालिकामा भएको मतगणनामा पनि सीके राउतको दल निकै कमजोर देखिएको छ ।

उपनिर्वाचनको मत परिणाम पछि विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले यो निर्वाचनले हामीलाई स्पष्ट सन्देश दिएको छ, हामी मतदाताको कानसम्म पुगेका रहेछौँ भन्ने जानकारी मिलेको बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्’ यो निर्वाचनले हामीलाई स्पष्ट सन्देश दिएको छ, हामी मतदाताको कानसम्म पुगेका रहेछौँ, मनमा पुग्न बाँकी रहेछ। हामीलाई मत दिनुहुने, नदिनु हुने सम्पूर्ण मतदाताहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। काम गर्छौँ। तपाईँहरूको मन पनि जित्छौँ। अभियान, सङ्गठन अनि स्पष्ट नीति बोकेर फेरि आउनेछौँ ।’

तर साझाका साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको परिणामले भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिजक भएपछि माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक सन्देश लेख्दै संयोजक मिश्रले उपनिर्वाचनको मतपरिणाम चिन्ताजनक भएको समेत उल्लेख गरेका छन् ।

‘उप चुनावले साझा पार्टीले छोटो समयमा जे गर्‍यो, त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ,’ मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

राजनीतिक विश्लेषकसमेत रहेका र नयाँ शक्तिको वकालत गर्ने मुमाराम खनालले यो उपनिर्वाचनले साझालाई ‘राजनीतिक जमीनमा टेकु भन्ने शन्देस दिएको बताएका छन् ।

राजनीतिक विश्लेषक जगत भुर्तेलले कांग्रेस एमाले र माओवादी पनि वैकल्पिक राजनीतिको बाटो समातेर लामो यात्रापछि आजको यात्रामा आइपुगेको बताएका छन् ।

‘इतिहासमा कांग्रेस, एमाले र माओवादीले पनि वैकल्पिक राजनीतिकै बाटो समातेर लामो यात्रापछि आजको स्थानमा आइपुगेका हुन्’ सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘ तिनका सिद्धान्तसँग विमति राख्न सकिएला, तर तिनले आफ्नो वैकल्पिक बाटोलाई स्थापित गरेरै छाडेको सत्यलाई नकार्न सकिन्न। अर्थात, कता जाने थाहा छ भने आफ्नो दिन अवश्य आउँछ।’

Loading...