मेडिकल कलेजभित्र पेस्तोल भेटियो, कलेज प्रशासनले नै पेस्तोल राख्न थालेको विद्यार्थी दावी

काठमाडौँ । प्रहरीले चितवन मेडिकल कलेजको छात्रावास अगाडिको हाताबाट एउटा पिस्तोल बरामद गरेको छ।

केही दिनयता कलेजले पढाई शुल्क महँगो लिएको भन्दै त्यसलाई फिर्ता गर्न माग राखी आन्दोलनरत विद्यार्थीहरुको छात्रावास अघिल्तिरको हातामा हतियार देखेपछि कलेज सेक्युरिटी गार्डले प्रहरीलाई सूचित गरेका थिए।

प्रहरीका अनुसार सूचना पाउने वित्तिकै प्रहरीले छात्रावास पुगेता पनि केही विद्यार्थीहरुले उनीहरुको छात्रावास भित्र प्रहरी प्रवेश र खानतलासी रोक्न उद्यत रहेकोले त्यहाँ तनाव रहेको बतायो।

विद्यार्थीहरुले भने उक्त पेस्तोल कलेज प्रशासनले आफूहरुलाई तर्साउनका लागि र दमन गर्ने वातावरण तयार गर्नका लागि राखेको दावी गरेका छन् । चितवन मेडिकल कलेज लगायत देशभरका मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । सरकारी शुल्क लागु हुनुपर्ने माग राख्दै विद्यार्थीहरुले आन्दोलन थालेपछि सरकारले मेडिकल कलेजहरुलाई बढी शुल्क फिर्ता गर्न निर्देशन जारी गरिसकेको छ । यो प्रसंगलाई डाइभर्ट गर्नका लागि पेस्तोल राख्ने लगायतका यस्ता चालवाजी गरिएको विद्यार्थीहरुले दावी गरेका छन् ।

Loading...